खबरदारी सभाअघि काठमाडौँमा माओवादीको जुलुस

खबरदारी सभाअघि काठमाडौँमा माओवादीको जुलुस
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा आयोजना गरेको खबरदारी सभाअघि जुलुस शुरु भएको छ ।

सुन्धाराबाट शुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारीसभामा परिणत हुनेछ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

माओवादी केन्द्रले १० बुँदे एजेण्डासहित आज प्रदर्शन र खबरदारी सभा गर्न लागेको हो । विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण पुनर्स्थापनाको कार्यान्वयन गराउन खबरदारीसभा आयोजना गरिएको सो पार्टीले जनाएको छ ।

त्यस्तै, प्रचण्ड नेतृत्वको सरकारले थालेको सुशासनको अभियानलाई कमजोर बनाउन षड्यन्त्र भैरहेको दावी गर्दै माओवादीले भ्रष्टाचारजन्य गतिबिधिलाई निष्तेज पार्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदवाव श्रृष्टि गर्न सडकमा ओर्लिएको पनि बताएको छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन तथा संविधान र लोकतन्त्रको रक्षा गर्न, मुलुकलाई दुई दलीय तानाशाहीमा लैजाने र अन्य राजनीतिक दलहरुलाई विभाजन गर्ने उद्देश्यसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रलाई असफल पार्न खबरदारी सभा गर्नुपरेको माओवादी केन्द्रले जनाएको छ । 

नेपाल विद्युत प्राधिकरण लगायत सार्वजनिक संस्थाहरुमाथिको हस्तक्षेप तथा निजीकरणका नाममा गलत उद्देश्यले महत्वपूर्ण सार्वजनिक संस्थानको बिक्री तयारीविरुद्ध खबरदारी गर्न, विश्वविद्यालयसहित शिक्षण संस्थाहरु र कर्मचारीतन्त्रमा गरिएको चरण राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न, विश्वविद्यालयसहित शैक्षिक संस्था र कर्मचारीतन्त्रमा गरिएको हस्तक्षेप अन्त्यको दबाब दिनुलाई खबरदारी सभाको एजेण्डा राखिएको उक्त पार्टीले जानकारी दिएको छ ।

टिप्पणीहरू