विप्लवका सचिवलाई माओवादीले दले मोसो

विप्लवका सचिवलाई माओवादीले दले मोसो
सुन्नुहोस्

जस्तालाई तस्तै भन्ने उखान यतिखेर विप्लव माओवादी र उनका नेता तथा कार्यकर्तामाथि चरितार्थ हुन थालेको छ । केही समयदेखि माओवादीको विप्लव र बहुमत खेमाले आफू विरोधीलाई जनकारबाहीको नाममा ठाउँको ठाउँ मोसो दल्दै आएका छन् । 

विप्लव नेकपाका जिल्लास्तरीय नेता तथा कार्यकर्ताले पनि कर्मचारी, जनप्रतिनिधि र अन्य दलका नेता तथा कार्यकर्तालाई मोसो दल्दै आएका थिए । विशेषगरी लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरु रोल्पा, रुकुममा त्यस्ता घटना हुँदै आएका थिए । तर रोल्पामा भने माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले  विप्लवका एक जना जिल्लास्तरीय नेतालाई मोसो दलेका छन् । 

"सन्दिपलाई पालिका अध्यक्षको घर रहेको वडामा जारी मेलामा पुगेका बेला माओवादी कार्यकर्ताले झ्यापझुप समातेर मोसो दलिदिएका हुन् ।"

विप्लवका रोल्पा जिल्ला सेक्रेटरी कमरेड सन्दिप सीलाई माडी गाउँपालिकाको घोर्नेटी भन्ने स्थानमा हिजो मोसो दलिएको हो । स्थानीय मेलामा पुगेको बेला सन्दिपमाथि मोसो दलिएको माओवादीका जिल्ला नेताले जानकारी दिए । 

माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्ति हुन् । माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय विप्लव,एमाले र काँग्रेसका नेता तथा कार्यकर्ताले लेखापालसँग मिलेर व्यापक भ्रष्टाचार गरेको आरोप लगाउँदै तीन महिनादेखि विरोधस्वरुप साप्ताहिक प्रदर्शन गर्दै आएका थिए । उक्त अवस्थामा एकाएक विप्लवका जिल्ला नेता सन्दिपको अनुहारमा मोसो पोतिएको हो । 

उक्त विरोध प्रदर्शनको नेतृत्व गर्ने सन्दिपलाई पालिका अध्यक्षको घर रहेको वडामा जारी मेलामा पुगेका बेला माओवादी कार्यकर्ताले झ्यापझुप समातेर मोसो दलिदिएका हुन् ।

फोटो स्रोतः बुद्धिमान वली ।

टिप्पणीहरू