कमेडीमा यस्तो सुनिन थाल्यो देउसी भैलो

कमेडीमा यस्तो सुनिन थाल्यो देउसी भैलो

यतिबेला देशभर तिहारको रौनक छ । गाउँदेखि शहरसम्म बाटोघाटो,घर झिलिमिली बत्तिले श्रृंगारिएका छन् ।  देउसी-भैलोका भाका गुञ्जिरहेका छन् । 

यसैबीच सिस्नुपानी नेपालले पनि प्रज्ञा प्रतिष्ठानमा देउसी-भैलो कार्यक्रम आयोजना गरेको छ । मुलुकको अस्थिर राजनीति,सत्ता स्वार्थको लागि दल तथा नेताहरुको लुछाचुँडी, बेराजगारी लगायतका विषयमा सिस्नोपानीका कलाकारहरुले व्यंग्यात्मक देउसी-भैलो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

सर्वाधिक रुचाइएको देउसी-भैलोका केही अंश यस्ता छन् :

बिपीले भन्थे – समाज वाद
देउवाजी भन्छन् – समात् बाँध
मदनको बहुदलीय – जनवाद

ओलीको एकल – मनवाद ।

लुस्स निस्की ओली गए, देउवाजीको खाटमा

के भो होला नसम्झौँ भो मध्य रातमा ।

थुम्कैपिच्छे भ्युटावर छन्, टोलैपिच्छे शहीदगेट
भ्रष्टाचार भो भन्ने मुखमा,टाँसिदिनु टेप ।

संविधानको संशोधन, साँच्चै हो कि नारा हो ?
छिमेकीको चारा हो कि आफ्नै पारा हो ?

माओले भन्थे – साम्यवाद
प्रचण्ड भन्छन् – हाम्मेवाद
सटरका माधव – घुम्तीमा
पार्टी त छ नि – कम्तिमा

खुत्खुत् हाँस्थे प्रचण्ड, ठूला दललाई झेलाउँदै
जादुमयी संख्या भन्दै चाबी खेलाउँदै ।

माओवादी अध्यक्षले, विश्राम लिनै पाएनन्
किनभने प्रचण्डले दिनै चाहेनन् ।

बालुवाटारमा बसुन्जेल, दलालीको घेरामा
वाममोर्चाको जोक् सुनाउँछन् फर्की डेरामा ।

हाम्रा नेता भैँसी पुज्छन्, मुर्रा भैंसी लेराउँछन्
कोही भैंसी दुन जान्छन् उतै हराउँछन् ।

राप्रपा भन्छ – राजा ल्याउँ
भ्यागुता गर्छन् –टर्र ट्याउँ ।
रास्वपा भन्छ – नयाँ छु
फेर्ने हो सरकार ? – म याँ छु ।

जान्ने भन्दै छानिएकी, हाम्री उपसभामुख नि लै लै
दूतावासलाई लेखिछन्, झण्डै मान्छे बेचिछन्,
तिर्मिर तिर्मिर तारा देखिछन् ।

१२ भाइलाई १३ औँ भाइले, उफ्री उफ्री थर्कायो ।
सरकारले थर्काउनेकै ढाड मर्कायो ।

नपाउनेले केरा पायो, बोक्रैसँग अड्कायो
नो नट अगेन भनी भनी मन्त्री पड्कायो ।

उसले खायो त्यसले खायो, हाम्ले खान नहुने ?
नयाँकाचाहिँ मुख छैन र खानै नहुने ?

म त खाँदिन टिभीको जागिर
मलाई लैजाउन गृहको कुर्सीमा

हेन्सम केटो हेन्सम नारा राजनीतिमा आउँदा
पाइलैपिच्छे कान्डैकान्ड अहिले थाहा पाउँदा

भो भो भाँच्दिन नाकको डाँडी हो
बचत खाँदिन जिबीले नबाँडी ।

सहकारीको झैं – ढुकुटी होस्
बचतकर्ता चैं – सुकुटी होस्
दाम्पत्य जीवन – यस्तो होस्
सहकारी डिभोर्स – जस्तो होस् ।

तस्बिरहरु

टिप्पणीहरू