बिन्दा, उषा र भीमलाई काटिएको पुर्जीमा के छ ?

बिन्दा, उषा र भीमलाई काटिएको पुर्जीमा के छ ?

भाटभटेनी सुपर मार्केटका साहुजी मीनबहादुर गुरुङले कीर्तिपुरमा जग्गासहित भवन बनाएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई दान गर्ने भएपछि त्यसको विरोधमा सार्वजनिक अभिव्यक्ति दिने एमालेका बागी नेता भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई एमालेले स्पष्टिकरण सोधे पनि उनीहरु आफ्नो धारणामा अडिग रहेको बुझिएको छ । यी नेताहरुले पार्टीलाई मंंगलबार बुझाएको स्पष्टिकरणपत्रमा अभिव्यक्तिको आशयलाई झनै दह्रोसँग उठाएको बताइन्छ ।

स्पष्टिकरण पत्रमा दर्जनौं सरकारवादी मुद्दा लागेका, राजश्व र कर छलि विषयमा कतिपय मुद्दा अदालतमा विचाराधीन रहेका गुरुङले दिएको जग्गा र भवन स्वीकार्न नहुने जिकिर गरिएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले गुरुङ दम्पतीसँगै कीर्तिपुरमा एमाले भवनको शिलान्यास गरेपछि यो विषय चर्चामा आएको थियो । 

पत्रमा आउँदो एक दुई दशकपछि पनि पार्टीको भवन हेरेपछि जनताले के बुझ्छन्, कस्तो जवाफदेहिता खोज्छन् भन्ने कुरा विचार गर्न नेतृत्वलाई सुझाएको पाइएको छ । जग्गा र निर्माणको निम्ति खर्चिने रकमको वैधानिक स्रोत र पुष्ट्याइँको आवश्यकतातिर स्पष्टिकरणमा औंलो सोझ्याइएको छ ।

एमालेको विधान दफा ८१ मा कारवाही गर्ने, पदवाट निष्कासन गर्नेजस्ता प्रावधान रहेको बताइन्छ । तीनै जनालाई यसै दफा उल्लेख गरी स्पष्टिकरण सोधिएको थियो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू