मोटरसाइकलमा ल्याइयो भन्सार छलिएको कपडा
सप्तरीमा भन्सार छलेर ल्याइएको लत्ताकपडासहित दुई युवक पक्राउ परेका छन् । राजगढ गाउँपालिका–३ का १९ वर्षीय प्रेमकुमार साह र १८ वर्षीय संतोषकुमार यादव समातिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले उनीहरुलाई राजविराज नगरपालिका–१६, बोरिया सडकखण्डबाट हिजो नियन्त्रणमा लिएको जनाइएको छ । उनीहरु स.९ प २५६८ नम्बरको मोटरसाइकलमा सखडा मन्दिर नजिकैबाट राजविराजतर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
मोटरसाइकलको पछाडि सवार यादवले समातेको प्लास्टिकको बोरामा भन्सार छलेर ल्याइएको कपडा फेला परेको हो । प्रहरीका अनुसार उनीहरुको साथबाट दुई लाख ६२ हजार ३३० रुपैयाँ बराबरको विभिन्न प्रकारका कपडा बरामद गरिएको छ ।
पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका निम्ति भन्सार कार्यालयमा बुझाइएको छ ।
टिप्पणीहरू