चितवनजस्तै पोखरालाई बेवकुफ ठानेको ?

चितवनजस्तै पोखरालाई बेवकुफ ठानेको ?

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्व गृहमन्त्री रवि लामिछानेसहित सूर्यदर्शन सहकारी पोखराका सञ्चालकहरु छविलाल जोशी र जिबी राईलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरी अनुसन्धान थाल्न बाध्य पार्ने पीडित उजुरीकर्ताहरुको अगुवा तथा पोखरा कास्कीका पीडित हुन् कृष्णप्रसाद जैसी । सहकारीको सदस्य पनि नभएका लामिछाने र जोशी पक्राउ परेपछि ठगहरुविरुद्ध कारवाही हुने आशामा रहेका जैसीसँग जनआस्थाले गरेको कुराकानीको सम्पादित संक्षिप्त वार्ता :

० पोखरामा सूर्यदर्शन सहकारी पीडितहरुको वास्तविक संख्या कति होला ?

– कूल पीडित संख्या २२ हजार ९ सय भए पनि जाहेरी दिने भने एक हजार ३७ जना छन् । 

० यी बचतकर्ताको कति रकम फसेको होला ? 

– एक सय ३५ करोडदेखि एक सय ३९ करोडसम्म फसेको देखिन्छ । 

० यो रकम कति समयावधिको हो ? 

– २०६४ सालमा संस्था खुलेदेखि गर्दै आएको बचत रकम हो । 

० तपाईंहरुको पीडालाई प्रहरी प्रशासनले शुरुमा कसरी लिएको थियो ?

– रवि लामिछाने गृहमन्त्री हुँदा हामीलाई अन्याय र अत्याचार गर्ने काम भयो । हाम्रो जाहेरीहरु लुकाउने र तपाईंहरु यहाँ (प्रहरी कार्यालयमा) किन आउनुपर्‍यो ? हामीलाई जिम्मा दिएपछि अनुसन्धान गरिहाल्छौं नि भन्दै पन्छाइयो । पोखराका तत्कालीन एसपी मोहन थापालाई काठमाडौंको संसदीय समितिमा बोलाएर रवि लामिछानेविरुद्ध उजुरी परेकै छैन समेत भन्न लगाइयो । उनीहरु (प्रहरी) त सत्ताका हतियार न हुन्, जे सर्कुलर गरे, त्यही भने । सधैं सत्ताधारी नै हुन्छौं भन्ठानेर हामीलाई त्यस्तो व्यवहार गरे । त्यसबेला म पाप कहिले न कहिले धुरीबाट निस्कन्छ भन्दै प्रहरी कार्यालयबाट निस्किएको थिएँ । ‘तपाईंहरु आज बचतकर्ताको विपक्षमा हुनुहुन्छ । ठीकै छ, तपाईहरुको केन्द्रीय सत्ता छ । सत्तासँग हामी पीडित लड्न त कहाँ सक्छौं र’ भनेको थिएँ । 

० तपाईंहरुले दिएको पुरक जाहेरी पनि दर्ता नगरी राखिएको थियो नि, हैन र ?

– संसदीय समितिले पनि आफ्नो प्रतिवेदनलाई राजनीतिक दस्तावेज जस्तो बनाइदियो । उसले यी सहकारी ठग नै हुन्, यिनले संगठित अपराध पनि गरेका हुन् । यी नेपाली पैसा विदेशी मुद्रामा बदलेर बाहिर लाने टेरोरिष्ट हुन् भनेर लेख्नुपथ्र्यो नि ! 

० त्यसो भए संसदीय समितिको प्रतिवेदनमा तपाईहरुको विमति रहेछ हैन त ?

– अरु दुई–चार दिन सूर्य थापालगायतको टोलीले हामी सहकारी बचतकर्ताका तर्फबाट विज्ञहरुसँग कुराकानी गरेको भए राम्रो हुन्थ्यो । उनीहरुले महिनौं लगाएर बनाएको प्रतिवेदनलाई एजेण्डा एजेण्डामा छलफल गरी छर्लङ्ग पार्न सक्थ्यौं । तपाईं के काम गर्नुहुन्छ ? स्वस्थ हुनुहुन्छ ? तीनपुस्तेको नाम के–के हो ? खाना खानुभयो त ? जस्ता प्रश्नको के काम थियो र त्यहाँ ? 

राजनीति टिकाउने, कुर्सी जोगाउने गणितीय हिसाब हो त्यो । त्यहाँ सिधासिधा प्रश्न गर्दा गोर्खा मिडिया प्रालिलाई मोहरा बनाएर कुन कुन देशमा पैसा पठाइयो ? मुख्य–मुख्य मान्छे क–कसले पैसा पठाए ? जिबी ग्रुप अफ कम्पनीका मतियार को–को हुन् ? सपोर्टर को–को हुन् ? सेक्सन कमाण्डर, अफिसर को हुन् ? त्यसलाई ठ्याकठ्याक किटानी गरेर यसलाई यति वर्ष, यसलाई यति वर्षभित्र समात भनी लिस्ट बनाएर सर्भिस डेलिभरी दिनुपर्ने होइन राज्यले ?

० पोखरा महानगरपालिकाले पनि छानबिन गरेर रिपोर्ट बुझाउँदा सिआईबीका दुई जना व्यक्ति सामेल थिए क्यारे !

– नगरपालिकाको रिपोर्ट त क्लियर छ । ठगले ऋण बनाएर पैसा लान्छ ? धितो राख्छ ? ती वैधानिक ऋणी भएको भए त हामी आफैं उठाउँथ्यौं, संसदीय समितिमा जानै पर्थेन नि ! यो त ठगीअन्तर्गतको मुद्दा भएकोले सहकारी के कारणले क्राइसिसमा पर्‍यो भन्ने कुरा लेख्नुपथ्र्यो संसदीय समितिले माथिबाट ।

० यिनीहरुले विदेशतिर पैसा लगेको प्रमाण केही छ तपाईंहरुसँग ?

– टेरोरिष्टले आफ्नो पक्षमा प्रतिवेदन बन्ने भएपछि मात्रै साइन गर्छ । नभए जनताको पैसा खाएको कुरामा साइन गर्छ ? यी सबै प्रमाण छोपेर काले काले मिलेर खाऊँ भाले शैलीमा रिपोर्ट लेखेका छन् यिनले ।

० पोखरामा लामिछानेलाई छुटाउन देशभरबाट रास्वपाका कार्यकर्ता उतारेर आन्दोलन गर्दा पीडितहरु किन कम देखिए ?

– हामी त सचेत र दुःख गरेर खाने मान्छे हौं । भ्रमको खेतीमा पर्दैनौं । सत्य र न्यायको बाटोमा हिँडने यहींका बासिन्दा हौं । घरका दुई चार जना मान्छे लिएर सडकमा निस्कन सक्दैनौं र ? राज्य अनुसन्धान र न्यायको बाटोमा गएकाले भेडाबाख्रा जस्तो चरित्र नदेखाऊँ भनेर पो त संयमित भएको । 

० घण्टीवाला मान्यहरु घरैमा आएर धम्काए भन्ने पनि सुनियो के हो कुरा ? 

– तिनले एउटा भुत्लो पनि उखेल्न सक्दैनन् । प्रक्रियामा गएको कुरामा प्रक्रियागत लडाइँ लडिन्छ । फौजी हिसावले आए भने प्रतिकार कसरी गर्ने जानिएको छ । मैले सुरुकै दिन सिडिओकै अगाडि हामीलाई आक्रमण गर्न आए भने पछि प्रत्याक्रमणको मुद्दा नलगाइयोस् भनेको थिएँ । बाहिरबाट आएका टेरोरिष्टहरुले हामी जाहेरवालामाथि  इमोशनल्ली आक्रमण गर्न थाले र हामीलाई असुरक्षित महसुस भयो भने हामी हानी हाल्छौं भनेर पूर्व चेतावनी दिएको थिएँ । 

पोखरेली बेकुफ छैनन् । जापान वा अन्तरिक्षबाट आएर बसेको होइन हामी । मेरा बालबच्चालाई पोखरेलीले पालेका छन् । मेरो बचत फसेको पोखरेलीलाई राम्रोसँग थाहा छ । अनि पोखरेली मेराविरुद्ध जान्छन् ? यस्ता पोखरेली त्यस्ता टपरटुइयाँको आन्दोलनमा कसरी जान्छन् ? 

० चितवनमा शालिकराम पुडासैनी मर्दाको जस्तो रवि लामिछानेको समर्थनमा पोखरेली किन नउत्रिएका होलान् ?

– चितवन र यहाँको घटना फरक हो । पोखरामा सारा जनता ठगिएका छन् । चितवनमा न्याय र अन्यायको पक्षमा भन्दा पनि हुलको पक्षमा फैसला भएको जस्तो ठान्या होलान् । कृष्णप्रसाद जैसी मर्‍यो भने बेग्लै कुरा, नभए म अन्तिम अवस्थासम्म एक्लै भए पनि लड्छु । कोही हात्ती जान्छन् कि साङ्ला जान्छन् कि मुसा जान्छन्- मलाई केही मतलव छैन । व्यक्तिले अपराध गरेर थुनामा पर्दा उसलाई छुटाउन सबैभन्दा ठूलो परमाणु बम झारे पनि केही हुन्न । राज्यले नियत खराब गरेन भने र श्रीमानहरुले इमान डग्मगाउन दिएनन् भने यस्ता धर्नाले केही लछारपाटो लाग्दैन ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू