‘हैन हैन, सबथोक ठीकै छ’
ओलीभन्दा देउवा अगाडि
राजनीतिक स्थायित्व, सुशासन र तीब्र आर्थिक विकासको लक्ष्यसहित संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर गठन भएको सरकारको एक सय दिन भर्खरै पूरा भएको छ । तर, जुन उद्देश्यका साथ सरकार बनेको हो, अपेक्षाअनुरूपको परिणाम देखिएको छैन । बाढी, पहिरो र डुबानबाट प्रभावितको खोज, उद्धार र राहतमा सरकार राम्रैसँग चुकेको छ ।
भाटभटेनी जग्गा दान प्रकरणसम्म आइपुग्दा सुशासनको मामिलामा पनि सरकारमाथि प्रश्न उठिरहेको छ । सत्तापक्षका विवादास्पद नेताहरू जोगाउन प्रधानमन्त्री केन्द्रित रहेको आरोप लागिरहेको छ । सुशासन र सर्भिस डेलिभरीमा सरकारले प्रभावकारिता देखाउन नसक्दा नागरिकमा चरम निराशा छाएको छ ।
गत शुक्रबार सय दिनको समीक्षा गर्न बसेको सत्ता गठबन्धन बैठकमा साना दलका नेताहरुले यस्तै प्रश्न उठाउँदा कांग्रेस सभापति देउवा अस्वभाविक रुपमा सरकारको प्रतिरक्षामा उत्रिएपछि अरु अचम्ममा परे । ‘दुइटा प्रमुख पार्टी मिलेर बनेको सरकार सामान्य सरकार होइन । एक्स्ट्रा सरकारले एक्स्ट्रा काम गरेर देखाउनुपर्ने हो तर, प्रधानमन्त्रीले प्रतिवद्धताअनुसार गर्न सक्नुभएको छैन’, एक नेताले यस्तो टिप्पणी गर्दा देउवाले बीचैमा हस्तक्षेप गर्दै भन्नुभयो, ‘हैन हैन ठीक छ ठीक छ, कांग्रेस खुशी छ ।’ हनिमुन पिरियडमा सरकारविरुद्ध बोल्नै नमिल्ने भन्दै प्रतिवादमा उत्रिएका उहाँको सरकार र ओलीप्रति अचम्मैको विश्वास देखिएको बैठकमा सहभागी एक नेताले बताए ।
सरकार परिवर्तनबारे बाहिर अनेक चर्चा चलाइएको भन्दै प्रधानमन्त्री ओलीले कांग्रेस–एमाले एक ठाउँमा हुँदासम्म गठबन्धनमाथि खतरा नरहेको सन्देश दिन खोजेको बुझेका देउवाले विश्वास दिलाउँदै भन्नुभयो– हैन हैन, सरकारले राम्रो काम गरेको छ, अरुले भनेर हुन्छ र !
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू