कसले फैलायो ‘रवि छुटेको’ हल्ला ?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । सहकारी ठगीको आरोपमा कात्तिक २ गते काठमाडौैँस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका रविलाई भोलि तेस्रो पटक म्याद थपको लागि अदालतमा उपस्थित गराइँदैछ ।
उता रास्वपाले ‘रवि छुटिसके’ भनेर सरकारी संयन्त्रबाट भ्रम फैलाइएको भन्दै आपत्ती जनाएको छ । सांसद तोसिमा कार्कीले सभापति लामिछानेलाई भेट्न हिरासत पुग्ने शुभचिन्तकहरुमा ‘रिहा भइसक्नुभयो’ भनेर भ्रमपुर्ण सूचना फैलाइएको भन्दै गुनासो पोखेकी हुन् ।
जनताले प्रतिशोधको आँकलन गर्छन् कि भनेर सरकार डराइरहेको पनि उनको दावी छ । ‘यता थुनामा राखिरहने,अनुसन्धान नगर्ने,पर्याप्त बयान पनि नलिने अनि म्यादचाहिँ थपिरहने’,उनले भनेकी छन्, ‘जनताले प्रतिशोधको आँकलन गर्लान् कि भन्ने डरले रिहा भइसक्नुभयो भन्ने भ्रमपूर्ण समाचार तथा सूचनाहरू प्रवाह गरेर आम जनसहभागिता तुहाउन खोज्ने, वा गज्जबको राजनीतिको प्रत्यक्षदर्शी हुँदैछौँ हामी।’
कार्कीले आफ्नो सभापति छुटिसक्यो भनेर मिथ्या सूचना नफैलाउन पनि सबैमा अपील गरेकी छन् । थपेकी छन्, ‘थुनामै रहेको व्यक्तिलाई छुटिसक्यो भनेर भ्रम नछरियोस्। निष्पक्ष तरिकाले अनुसन्धान र न्यायको प्रक्रिया अगाडि बढाइयोस् ।’
भोलि म्याद थपको लागि बहस हुँदैछ,भोलि नै हेरौं । त्यसपछि हाम्रा कार्यक्रम सार्वजनिक गर्छौँ ।
पार्टीका अर्का सांसद गणेश पराजुलीले भने सभापति लामिछाने छुट्यो भनेर फैलाइएको भ्रमबारे आफूलाई केही थाहा नभएको बताए । तोशिमाले कुनै घटना केन्दृत भएर आक्रोश पोखेको हुनसक्ने उनको अनुमान छ ।
‘कार्यकर्तामा सभापतिज्यू छुट्नुभयो भनेर भ्रम सिर्जना भएको हो र ?’ भन्ने जनआस्थाको प्रश्नमा उनले फर्काए, ‘त्यस्तो अहिलेसम्म मेरो कानमा परेको छैन,उहाँ हिरासतमै हुनुहुन्छ नि !मान्य तोशिमाज्यूले कुनै घटनाको सन्दर्भमा त्यस्तो लेख्नु भएको होला ।’
सांसद पराजुलीले भोलि कास्की जिल्ला अदालतमा म्याद थपको लागि हुने बहसपछि मात्रै सभापति लामिछानेको हिरासत बसाइको टुंगो लाग्ने बताए । ‘उहाँलाई छुटाउन के कस्तो रणनीति अपनाउँदै हुनुहुन्छ ?’ भन्ने प्रतिप्रश्नमा थपे, ‘आन्दोलनका कार्यक्रमहरु त हुन्छ न नै । तर भोलि म्याद थपको लागि बहस हुँदैछ,भोलि नै हेरौं । त्यसपछि हाम्रा कार्यक्रम सार्वजनिक गर्छौँ ।’
सभापति लामिछाने हिरासतमा पुगेपछि पार्टीभित्र अनेकौँ लफडाहरु सुरु भएको देखिन्छ । एकातिर, कार्यवाहक सभापतिको लागि उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच आन्तरिक द्वन्द्व सुरु भएको छ । भने,अर्कोतिर दिनभर सरकारलाई सराप्ने र रात पर्नेबित्तिकै प्रधानमन्त्री तथा मन्त्रीहरुलाई गोप्य रुपमा भेटेको खबरले कार्यकर्तामा विभाजन ल्याउने खतरा बढेको कतिपयकाे विश्लेषण छ ।
टिप्पणीहरू