युएईबाट ल्याइएको स्पिकरभित्र झण्डै छ किलो सुन
स्पिकरभित्र छ किलो सुन हालेर ल्याइएको अभियोगमा एक जना चिनियाँ र दुई जना म्यानमारका नागरिक पक्राउ परेका छन् । हिजो साँझ साढे ७ बजे सारजाँहबाट एअर अरेबियाको उडान नम्बर जी ९५३० बाट काठमाडौं उत्रिएका उनीहरुको ब्यागेजभित्र छ किलो ७०० ग्राम गिलो सुन फेला परेको बताइन्छ ।
पासपोर्ट नम्बर केइके ८४६७१४० का मा चिआनचोङ र म्यानमारका नागरिकहरु पासपोर्ट नम्बर एम १८६२४८५ का एइङने फु र एमएच ८०८०६३ नम्बरका साट् नाइङ तुनको ब्यागेज दोहोर्याएर चेक गर्ने क्रममा सशस्त्र प्रहरी बल र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले उक्त परिमाणको सुन फेला पारेको हो ।
प्रहरीका अनुसार एइङने फुले बोकेको ब्यागेजमा राखिएको १२ थान स्पिकरभित्र ती सुुन लुकाइएको थियो । सुन बरामद गरेर तीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
टिप्पणीहरू