जति विवाद, उति छलाङ
अमेरिकाको ४७औँ राष्ट्रपति बन्ने पक्का भएसँगै ‘ग्लोबल इन्ट्रेस्ट’को पात्र बनेका छन्, डोनल्ड ट्रम्प । रिपब्लिकन पार्टीका उम्मेदवार उनी सन् २०१७ देखि सन् २०२१ सम्म ४५ औं राष्ट्रपति थिए ।
ह्वाइट हाउस पुनरागमन निश्चितसँगै ट्रम्पलाई बधाई र शुभकामनाको ओइरो लाग्न थालेको छ । निर्वाचनको औपचारिक परिणाम घोषणा नहुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बेलायती प्रधानमन्त्री किर स्टार्मर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसहित विभिन्न देशका राष्ट्र प्रमुखहरुले बधाई दिएका छन् ।
विश्व महाशक्ति राष्ट्र अमेरिकाको दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित ट्रम्प को हुन् ? उनको निजी र राजनीतिक जीवनबारे फेरि धेरैले चासो राख्न थालेका छन् ।
७८ वर्षीय ट्रम्प न्युयोर्कको क्विन्समा जन्मिएका हुन् । उनको पूरा नाम डोनल्ड जोन ट्रम्प हो । सानैदेखि जिज्ञासु र चञ्चल स्वभावका ट्रम्प बेला–बेला युवतीहरुसँगको सम्बन्धका कारण विवादमा आउने गरेका छन् । उनको वैवाहिक जीवन पनि त्यत्ति सुखद् छैन ।
सन् १९७७ मा इभाना जेल्निकोभासँग पहिलो विवाह गरेका ट्रम्पले १३ वर्षपछि उक्त सम्बन्धलाई पूर्णविराम दिए । त्यसपछि सन् १९९३ मा मार्ला मेपल्ससँग दोस्रो विवाह गरे । मार्लासँगको सम्बन्ध पनि उनले लामो समय टिकाउन सकेनन् र सन् १९९९ मा डिभोर्स गरे । त्यसको छ वर्षपछि मेलानिया क्नाउससँग तेस्रो विवाह गरेका ट्रम्प पाँच सन्तानका बाबु हुन् ।
राजनीतिमा आउनुअघि उनी सफल व्यवसायीको रुपमा परिचित थिए । रियल स्टेट, हस्पिटालिटी, नाइट क्लब, ब्युटि पेजेन्ट, मोडलिंग एजेन्सीसहित दर्जनौँ क्षेत्रमा उनको लगानी छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ट्रम्पको कुल सम्पति अनुमानित ६ बिलियन डलर छ ।
विश्व प्रसिद्ध सौन्दर्य प्रतियोगिता ‘मिय युनिभर्स’ आयोजना गर्ने कम्पनी पनि ट्रम्पकै हो । सन् २०१५ को संस्करणमा प्रतियोगी युवतीहरुको ड्रेसरुममा छिरेपछि उनी विवादमा तानिएका थिए । यद्यपि, उनले त्यतिबेला माफी मागेपछि विवाद एकाएक सुल्झियो । त्यसयता पनि ट्रम्पको नाम विभिन्न मोडलहरुसँग जोडिँदै आएको छ ।
ट्रम्प हेर्दा जति हक्की देखिन्छन्, उत्तिकै विलासी पनि छन् । खासगरी उनी जेट विमानमा सयर र गल्फका सौखिन हुन् । उनीसँग आधा दर्जन प्राइभेट जेट विमान र १८ वटा गल्फ कोर्स भएको बताइन्छ । त्यसबाहेक दुई दर्जन महंगा गाडी पनि छन् ।
टिप्पणीहरू