रास्वपामाथि सहकारी पीडितको चरित्रहत्या गरेको आरोप

रास्वपामाथि सहकारी पीडितको चरित्रहत्या गरेको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि सहकारी पीडितहरुको चरित्रहत्या गरेको गम्भीर आरोप लागेको छ । 

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई छुटाउन दिनहुँ सडक प्रदर्शन गर्दै आएका सो पार्टीका कार्यकर्ता सहकारी पीडितमाथि नै खनिएपछि चरित्रहत्याको आरोप लागेको हो । पोखराको ‘सूर्यदर्शन बचत पीडित संघर्ष समिति’ले आफ्ना अध्यक्ष किरण श्रेष्ठको मानमर्दन गरिएको भन्दै आपत्ति जनाएको छ । 

समितिले रास्वपाका तर्फबाट सामाजिक सञ्जालमा भ्रामक सामग्रीहरु पोष्ट गरेर झुठ्ठा समाचार सम्प्रेषण गराई पीडितलाई थप पीडा दिने काम भरहेको गुनासो पनि गरेको छ । सहकारी पीडितबीच फाटो ल्याएर सभापतिलाई चोख्याउन रास्वपाका कार्यकर्ता उद्धत रहेको समितिको ठहर छ ।  

आज जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो अध्यक्षज्यूको मानहानी, चरित्रहत्या र मानव अधिकार हनन भएको छ, हामीमाथिका यी सम्पूर्ण गलत क्रियाकलाप रास्वपाकै नेता–कार्यकर्ताबाट भएको हो भन्ने हाम्रो बुझाई छ’,विज्ञप्तिमा भनिएको छ,‘किनभने उहाँहरुकै पार्टीको नाम भएका आधिकारिक फेसबुक पेज, समूह र त्यहीँ पार्टीसँग आबद्ध भएर आफ्नो पहिचान बनाउनुभएका व्यक्तिहरुको सामाजिक सञ्जाल फेसबुक पेजबाट यी गलत र झुठ्ठा कुराहरुको सम्प्रेषण भएको छ ।’

मुलुकमा विकास, भ्रष्टाचारको अन्त्य र सुशासनको प्रतिबद्धतासहित वैकल्पिक बाटोको रुपमा रोजिएको चौंथो ठूलो पार्टीबाट कुनै व्यक्तिको चरित्रहत्या गरिनु लज्जास्पद भएको ठहर गर्दै समितिले पीडित बचतकर्तामा फाटो ल्याएर घिनलाग्दो राजनीति नगर्न आग्रह गरेको छ । त्यस्तै, समितिले चरित्रहत्या गर्नेविरुद्ध कानुनी उपचारमा जाने चेतावनी पनि दिएको छ । 

‘सूर्यदर्शन सहकारीको विषयमा हामी १८,७०० बचतकर्ता र सम्पूर्ण जाहेरवाला नै समिति हौं, हामी सम्पूर्ण सहकारी पीडित जनसमुदायहरुलाई के भन्न चाहन्छौं भने यस्ता गलत र झुठ्ठा विषयको विश्वास नगर्नुहोला, हामीबीच जसरी फाटो ल्याउने काम भएको छ, त्यसलाई हामीले चिरेर जानुपर्छ, हाम्रो विषय एकातिर छ तर यसलाई विषयान्तर गरी हामीलाई कमजोर पार्ने काम हुँदैछ, यो एउटा ठूलो घिनलाग्दो राजनीति हो’, विज्ञप्तिमा उल्लेख छ । 

गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेपछि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई छोड्नुपर्ने माग गर्दै रास्वपाले निरन्तर प्रदर्शन गरिरहेको छ । उनलाई कास्की जिल्ला अदालतले तेस्रो पटक अस्ति १० दिनको लागि अनुसन्धानको निम्ति म्याद थपेको हो । लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक छँदा अध्यक्ष जिबी राई, उपाध्यक्ष छविलाल जोशीलगायतसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू