धनराजकी ‘पूर्वपत्नी’ विरुद्ध रेडकर्नर नोटिस

धनराजकी ‘पूर्वपत्नी’ विरुद्ध रेडकर्नर नोटिस

नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङ्गकी भूतपूर्व पत्नी ज्योति गुरुङ र सहकारी ठगीका अर्का फरार आरोपित ज्योति भण्डारीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ । 

ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उनीहरु भागेर विदेश पुगेपछि इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले एक हप्ता अगाडि उनीहरुविरुद्ध रेडकर्नर नोटिस जारी भएको बताए । 

‘उहाँहरुविरुद्ध इन्टरपोलबाट रेडकर्नर नोटिस जारी भएको छ । एक साताजति भयो’, उनले भने । सहकारी ठगीमा अदालतबाट पक्राउ पूर्जी जारी भएपछि फरार रहेकी गुरुङ अमेरिकामा रहेको बताइन्छ । 

यता, भण्डारी कम्बोडियामा रहेको बुझिएको छ । गुरुङ मितेरीको प्रबन्धक निर्देशक रहँदा बचतकर्ताको साढे १२ करोड रुपैयाँ हिनामिना भएको थियो । यस सम्बन्धमा सहकारीका अध्यक्ष कुम्भराज गुरुङ्गले सिआईबी र सूर्य थापा नेतृत्वको संसदीय समितिमा पनि उजुरी दिएका थिए ।

टिप्पणीहरू