जुवाडे वडाध्यक्षलाई जोगाउन नामै फेरियो
जुवाखालबाट समातिएका जनप्रतिनिधिलाई छुटाउन नाम परिवर्तनसम्मको चलखेल शुरु भएको खुलेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ का वडाध्यक्ष बुद्धिमान तामाङ्गलाई छुटाउन नाम परिवर्तन गरेर अर्को जुवाडे खडा गर्न लागिएको बुझिएको छ ।
नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङ्गसहित ११ जना जुवाडेको समूहलाई प्रहरी वृत्त,बौद्धले गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकाबाट पक्राउ गरेको थियो । २०७९ सालमा नेकपा माओवादी केन्द्रबाट सोही वडाको वडाध्यक्षमा उम्मेदवार बनेका दिपक लामिछानेको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा ३६ वर्षीय सञ्चालक लामिछाने, ४९ वर्षीय श्रीकाजी तामाङ्ग, ३१ वर्षीय कुमार तामाङ्ग, ३५ वर्षीय विशाल तामाङ्ग, ४० वर्षीय सोनाम लामा, २९ वर्षीय अभिषेक शर्मा, ३९ वर्षीय राजु दोङ, ४० वर्षीय सरोज थापा, ३२ वर्षीय सुदिप घोरासैनी, ४० वर्षीय दिनेश लामिछाने र ४८ वर्षीय प्रेम लामा रहेका छन् ।
वडासदस्य हरिप्रसाद आचार्यलाई कार्यवाहक दिएर यता जुवाखालमा डेरा जमाउँदै आएका उनले यसपटक भने वडासदस्य सानुकान्छा तामाङ्गलाई कार्यवाहकको जिम्मा दिएका छन् ।
वडाध्यक्ष बुद्धिमानले आफू जोगिन नाम फेरेर विशाल राखेको स्रोतको भनाइ छ । ‘उनीहरु हिजो बिहान जुवा खेल्दाखेल्दै पक्राउ परेका हुन् । वडाध्यक्ष पनि पक्राउ परेका छन् । तर, उनको वास्तविक नाम कतै उल्लेख गरिएको छैन । विशाल राखिएको छ । अर्को व्यक्ति खडा गरेर उनलाई निकाल्ने प्रयास भइरहेको छ’,स्रोतले भन्यो ।
यता,पक्राउ परेका दिनेश मेलम्ची भ्याली क्याम्पस सञ्चालक समितिको उपाध्यक्ष हुन् । वडाध्यक्ष तामाङ्ग प्रायःजसो काठमाडौंमै बस्छन् । वडासदस्य हरिप्रसाद आचार्यलाई कार्यवाहक दिएर यता जुवाखालमा डेरा जमाउँदै आएका उनले यसपटक भने वडासदस्य सानुकान्छा तामाङ्गलाई कार्यवाहकको जिम्मा दिएका छन् ।
वडाध्यक्ष नै जुवाखालबाट समातिएपछि वडा कार्यालयमा खैलाबैला मच्चिएको छ । एक वडासदस्यले जनआस्थासँग भने,‘वडाध्यक्ष धेरैजसो काठमाडौंमै बस्नुहुन्थ्यो । किन बस्नुहुन्थ्यो भन्ने कुरा अहिले आएर छर्लङ्ग भयो । यस्ता त जनप्रतिनिधि छन्, हामीले के भन्नु ?’
प्रहरीले जुवाखालबाट तीन बुक तास, १६ थान कौडा र एक करोड रुपैयाँभन्दा बढी रकम बरामद गरेको बुझिएको छ ।
टिप्पणीहरू