राष्ट्रपतिलाई अजरबैजानमा चुरेको पैसाबारे सोधियो भने ?

राष्ट्रपतिलाई अजरबैजानमा चुरेको पैसाबारे सोधियो भने ?
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेल आज अपरान्ह अजरबैजानको बाकु जानुभएको छ । उहाँले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिनु हुनेछ।

उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेलले पर्सि र बुधबार हुने उच्चस्तरीय सत्र ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्दैछ ।

सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानी तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुने बताइएको छ । विश्वमै नेपाल जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूमध्ये एक हो । 

नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको भनिएको छ । तर,सोही क्रममा नेपालले लागु गरेको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबारे सोधनी गरे नेपालका राज्य प्रमुखले के जवाफ दिनुहोला ? भनेर बिबिसी विश्व सेवामा कार्यरत पत्रकार नविनसिंह खड्काले अनुमान गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै खड्काले प्रश्न गरेका छन्, ‘राष्ट्रपतिलाई कोप २९ मा चुरेको पैसाबारे सोधियो भने ?’ उनका अनुसार चुरे संरक्षण कार्यक्रम राष्ट्रपति पौडेलको कार्यालयअन्तर्गत सञ्चालनमा छ । उक्त आयोजनामा गरिएको पाँच अर्ब रुपैयाँ सहयोगको गत पाँच वर्षमा जम्मा १.३ प्रतिशत अर्थात ६५ करोड मात्र खर्च भएकाले जलवायु परिवर्तनले पारेको असर कम गर्न भएको प्रयास र चुरेको संरक्षणमा नेपालको योगदानलाई उदाङ्गो पारिदिएको बताइन्छ ।

टिप्पणीहरू