सभामुखको जन्मस्थानमा कसले मार्ला बाजी ?
-कमल भट्टराई
मंसिर १६ गते ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नम्बर ३, सिकैचामा रिक्त वडाध्यक्षका लागि उपचुनाव हुँदैछ । तत्कालीन वडाध्यक्ष दिलप्रसाद वोखिम वैदेशिक रोजगारीका लागि हङकङ गएपछि रिक्त पदमा उपनिर्वाचन गर्न लागिएको छ ।
नेपाली काँग्रेसबाट निर्वाचित वोखिम गत वर्षको कात्तिक २४ गते हङकङ गएका हुन् । उनी विदेश पलायन भएपछि स्थानीय मर्कामा पर्नुका साथै विकास निर्माणको काम सुस्त भएको गुनासो बढेको थियो । त्यसैबीच, गत असोज १५ गते उनले राजीनामा दिएका हुन् ।
पालिका अध्यक्ष लालकृष्ण चौहानमार्फत जिल्ला निर्वाचन कार्यालयलाई सम्बोधन गर्दै उनले राजीनामा पत्र पठाएका थिए । वडाध्यक्ष वोखिमले राजीनामा दिएपछि रिक्त पदमा विभिन्न राजनीतिक दलहरुले उम्मेदवारी दिदैँछन् । नेकपा एमालेसहित नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले उम्मेवार उठाउँदै छन् ।
एमालेका पाँच जना आकांक्षी भएपनि पहिले चार मतले पराजित कुमारी सौदेनलाई नै पुनः उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिएको छ । पार्टीका जिल्ला तहका नेताको उपस्थितिमा बसेको बैठकले निर्वाचनलाई सफल बनाउन एक सय जनाभन्दा बढीको चुनाव प्रचारप्रसार समिति बनाएको जिल्ला कमिटी सचिव सन्तोष चामलिङले जानकारी दिए ।
त्यस्तै, माओवादीले हाल कार्यवाहक वडाध्यक्ष चलाइरहेका अम्बि सौदेनलाई उठाउने बुझिएको छ । पहिले गठबन्धन मोर्चाबाट काँग्रेसलाई सघाएर विजयी बनाएका कारण यस पटक काँग्रेसको माओवादीलाई समर्थन र सहयोग रहने सम्भावना छ ।
तर, काँग्रेसमै पाँच जनाभन्दा बढी आकांक्षी देखिएकाले उक्त अवस्था प्रष्ट हुन सकेको छैन । सिकैचामा पहिचानवादीको मत पनि महत्वपूर्ण हुने निश्चित छ । राप्रपाले पनि उम्मेदवारी दिनसक्ने सम्भावना उत्तिकै छ ।
एमाले पहिलेदेखि बलियो रहेको सिकैचामा सिकैचा ९ ढुमृसेतिर गाभिएपछि थोरै कमजोर बनेको देखिन्छ । सिकैचा ८ बाट बसाईसराई तथा वैदेशिक रोजगारीमा जाने बढेपछि वाम इलाका कमजोर भएको हो । तरपनि एमाले अझै बलियो शक्ति रहेको पछिल्लो निर्वाचनले देखाएको छ ।
ताप्लेजुङमा उक्त एक स्थानमा मात्र उपनिर्वाचन हुने भएकाले सबै शक्तिहरु केन्द्रित हुने निश्चित छ । उक्त वडा नेपाली काँग्रेसकी नेतृ एवम् ताप्लेजुङ प्रदेशसभा (क) की सदस्य लीलादेवी बोखिम लिम्बुको जन्मथलो पनि हो । एमाले नेता तथा सभामुख देवराज घिमिरेको समेत जन्मस्थान रहेकाले सिकैचामा हुन लागेको उपनिर्वाचनलाई छुट्टै ढंगले हेरिएको छ ।
टिप्पणीहरू