बुद्ध एअरको लास्ट सिटमा रवि भैरहवा प्रस्थान

बुद्ध एअरको लास्ट सिटमा रवि भैरहवा प्रस्थान
सुन्नुहोस्

सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरअन्तर्गत प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई पोखराबाट भैरहवा लगिएको छ । बुद्ध एअरको उडानमा पोखराबाट भैरहवा विमानस्थल र लगत्तै उनलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देही पुर्याइने प्रहरीले जनाएको छ ।

रविका समर्थक र सहकारी पीडितहरुले नाराबाजी गर्ने संकेत पाएपछि बुुटवल र भैरहवाको सुरक्षा व्यवस्था कडा पारिएको छ । लामिछानेलाई बिहानै पोखराबाट ल्याउने खबरपछि उनका कार्यकर्ताहरु भैरहवामा जम्मा भएका हुन् । पोखराको सूर्यदर्शनपछि बुटवलस्थित सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणमा पनि रवि मुछिएका छन् । 

पूरक निवेदनको आधारमा उनलाई बयानका लागि पोखराबाट बुद्ध एअरको विमानमा भैरहवा लगिएको हो । बिहानै भैरहवा लैजाने भन्दै लामिछानेलाई ५ बजे नै पोखरा विमानस्थल पुर्याइएको थियो । तर, भैरहवाको आकाश नखुलेकाले पोखराबाट उड्न ठिक्क परेको बुद्ध एअरको विमान बिहान साढे ११ बजेसम्म पोखरा विमानस्थलमै रोकियो । त्यसपछि उनलाई विमानको अन्तिम सिटमा राखेर भैरहवा लगिएको हो । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनलाई बढीमा तीन रात त्यहाँको हिरासतमा राखिनेछ । आजदेखि जिल्ला सरकारी वकिलको कार्यालयमा लगेर बयान लिने योजना छ । यता रास्वपा कार्यकर्ताहरुले भैरहवाको बुद्धचोकस्थित लुम्बिनी गेटमा भेला भएर जिल्ला प्रहरी कार्यालय नजिक नजिक सभा गर्न लागेका छन् ।

सुप्रिम सहकारीका पीडितहरुले पनि प्रदर्शनको तयारी गरेका छन् । उनीहरुले बचत फिर्ताको र दोषीलाई कारबाहीको माग अघि सारेका छन् ।

टिप्पणीहरू