कान्तिमा पाँच करोडको मोडुलर अपरेसन थिएटर

कान्तिमा पाँच करोडको मोडुलर अपरेसन थिएटर
सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थिएटर निर्माण गर्न लागेको छ । महानगर र अस्पताल प्रशासनबीच सोसम्बन्धी सम्झौता भएको जनाइएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र अस्पतालका निर्देशक पङ्कज रायले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । अस्पतालमा अपरेसन थिएटर निर्माण तथा उपकरण जडान आगामी जेठ मसान्तभित्र गरिसक्ने सम्झौतामा उल्लेख छ । 

आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सरल, सहज, पारदर्शी र पहुँच योग्य बनाउन आन्तरिक क्षमतासँगै सरकारी स्वास्थ्य सेवाको क्षमता बढाउन सहकार्य गरिएको महानगरले जनाएको छ । 

महानगरले मोडुलर अपरेसन थिएटरका लागि चालु आर्थिक वर्षमा पाँच करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । सम्झौताअनुरुप अस्पतालले मोडुलर ओटि बनाउन लागत अनुमान तयार पार्ने छ । साढे पाँच करोडभन्दा बढी लागत आएमा त्यसको दायित्व अस्पतालकै हुने छ । 

त्यस्तै, लागत र ड्रइङ डिजाइनका आधारमा खुला बोलपत्र आह्वान, मूल्यांकन, निर्माण पक्ष छनौट, निर्माण कार्य गराउनेजस्ता दायित्व पनि अस्पतालकै हुने छ । महानगरले कार्यप्रगतिका आधारमा बढीमा तीन किस्तामा सम्झौताबमोजिम रकम उपलब्ध गराउने बताइएको छ । 

यसरी रकम उपलब्ध गराउँदा सरकार वा अन्य निकायबाट प्राप्त रकमसँग दोहोरो नहुने सुनिश्चित गरिनेछ । साथै, उपलब्ध गराएको रकमबाट निर्माण हुने संरचनाको महानगरले अनुगमन पनि गर्ने छ । अस्पतालले आयोजनाको पारदर्शिताका लागि सूचना बोर्ड राख्नु पर्नेछ । 

निर्माणका लागि अन्य निकायबाट अनुदान वा सहयोग रकम उपलब्ध भएमा त्यसको विवरण महानगरमा बुझाउनु पर्नेछ । प्रचलित पद्धतिको पालना गरेर बेरुजु नहुने गरी काम गर्नुपर्ने र बेरुजु देखिएमा फछ्र्यौट गर्ने दायित्व पनि अस्पतालकै हुने सम्झौतामा लेखिएको छ ।
 

टिप्पणीहरू