नझुक्किने कसम खाएपछि पूर्व प्रधानमन्त्रीलाई तथानाम
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराई जनयुद्ध, त्यसअघि र पछिका सहकर्मी हुन् । प्रचण्डले जनयुद्धको नेतृत्व गर्दा बाबुरामलाई दोस्रो कमाण्डर मानिएको थियो ।
प्रचण्डले २०६८ मा बाबुरामलाई प्रधानमन्त्री बनाएको ऐतिहासिक क्षणलाई अहिले पनि कतिपय वाम विश्लेषकहरु नजिरको रुपमा व्याख्या गर्छन् । यद्यपि, बाबुराम अहिले फरक कित्तामा पुगिसकेका छन् ।
पछिल्लो समय डा.बाबुरामको व्यक्तिगत सामजिक सञ्जाल पेजलाई अध्ययन गर्ने हो भने प्रचण्डप्रति आक्रोश पोख्दा उनी निकै सन्तुष्ट हुने गरेका छन् । २०७९ को निर्वाचनमा आफ्नो क्षेत्र (गोरखा २) प्रचण्डलाई हस्तान्तरण गरेकोमा पश्चाताप लागेको बताएका उनले हप्तैपिच्चे मनको बह सामाजिक सञ्जालमा पोखेको देखिन्छ ।
आज सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले माओवादी अध्यक्ष प्रचण्डसँग कहिल्यै नझुक्किने कसम खाएका छन् । प्रचण्डले सँधै जनतालाई झुक्याउँदै आएको दावी गर्दै उनले आफू नझुक्किने प्रण गरेका हुन् ।
प्रचण्डसँगको ३५ वर्षे अनुभव साझा गर्दै भनेका छन्, ‘अब उनीबाट झुक्किने– नझुक्किने सबैले आफैं सोच्ने कुरा हो । मैले त ३५ वर्षको प्रत्यक्ष अनुभवपछि गम्भीर आत्मसमीक्षासहित अब कहिल्यै नझुक्किने प्रण गरेको छु ।’
प्रचण्डलाई अझै पनि जनता झुक्याउन सकिन्छ कि भन्ने लागेको बाबुरामको ठहर छ । एक कथनको उदाहरण दिँदै लेखिएको छ, ‘सबैलाई केही समय झुक्क्याउन सकिन्छ, केहीलाई सधैंभर झुक्क्याउन सकिन्छ, तर सबैलाई सधैंभर झुक्क्याउन सकिन्न । परन्तु लामो सत्ताले मदहोश भएका प्रचण्ड जस्ता केही मान्छे ठान्दछन्, सबैलाई सधैंभर झुक्क्याउन सकिन्छ । उनको पछिल्लो हर्कत त्यसैको दसी हो ।’
बाबुरामको उक्त अभिव्यक्तिप्रति अधिकांशले उनैप्रति आक्रोश पोखेका छन् । डा. भट्टराई आफैँ झुक्किएर गलत दिशामा पुगेको कतिपयको तर्क छ ।
शिवु क्षेत्रीले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक हुन बाबुरामले प्रचण्डलाई सत्तोसराप गरिरहेको आशंका गरेका छन् । उनी भन्छन्, ‘चौतर्फी माओवादी मिल्ने कुरा छ, यीनको बुद्धि चाहिँ अचम्मैको छ । प्रचण्डलाई जति गाली गर्यो उति ओलिसँग नजिक हुन सकिन्छ भन्ने परेको छ । सायद बाबुराम ०८४ मा एमालेको सहयोगमा चुनाव लड्न चाहन्छन् ।’
त्यस्तै विष्णु सुवेदीले बाबुरामलाई पटमुर्खको संज्ञा दिएका छन् । ‘जति बिरोध गरे पनि लास्टमा तपाईं जस्ता पटमुर्खले काँध थाप्दिने नै हो, त्यही भएर प्रचण्डले यत्रो वर्ष राज गरिरहेका छन्’, उनको कमेन्टमा लेखिएको छ ।
गायक बद्रि पंगेनीले भने बाबुरामलाई विगत भुलेर प्रचण्डसँग हातेमालो गर्न सुझाव दिएका छन् । ‘समस्या मात्रै होइन बिकल्पसहित अगाडि बढौं,’ भनेका छन्, ‘विगत भुलेर वर्तमानमा सुन्दर भविष्यको निर्माण गरौं ।’
टिप्पणीहरू