भाग पुर्याउन मन्त्रालय फुटाइयो
बागमती प्रदेश सरकारमा भागबण्डाको निम्ति मन्त्रालय विभाजन गरिएको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विनाविभागीय मन्त्री मदुकुमार श्रेष्ठलाई जिम्मेवारी दिन संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय फुटाउने निर्णय गरेको छ ।
गत साउन ९ गते मन्त्री नियुक्त भएका श्रेष्ठले अहिलेसम्म जिम्मेवारी पाएका थिएनन् । आज मन्त्रालय फुटाइएपछि उनले सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
सुरुमा सरकार गठन हुँदा नेपाली काँग्रेसले मुख्यमन्त्रीसहित सात र एमालेले छ मन्त्रालयको नेतृत्व गर्ने सहमति भएको थियो । तर पछि काँग्रेसले प्रदेश सांसदको गणितीय हिसाबले मुख्यमन्त्रीसहित आठ मन्त्रालयको दावी गरेपछि मन्त्री श्रेष्ठ विनाविभागीयमा सीमित भएका हुन् ।
मुख्यमन्त्री बहादुरसिंह लामाले उतिबेलै मन्त्रालय फुटाउने तयारी गरेका थिए । एमालेले नमानेको कारण सरकार गठनको सय दिनपछि मन्त्रालय फुटाउने वातावरण बनेको हो ।
टिप्पणीहरू