रास्वपाका सांसदहरुविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पर्ने हिसाबले सडक आन्दोलन गरेर अदालतको अवहेलना गरेको भन्दै परेको निवेदन आज दर्ता भएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासले दरपीठको आदेश खारेज गरेर रिट निवेदन दर्ता गर्न आदेश दिएका हुन् । उक्त मुद्दाको पेशी भोलिका लागि तोकिएको छ । गत कात्तिक २ गते पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई छोड्न माग गर्दै पार्टीका नेता–कार्यकर्ताले निरन्तर प्रदर्शन गरिरहेका छन् ।
उनीहरुको प्रदर्शनले न्यायालयको काम–कारबाही प्रभावित बनेको रिट निवेदनकर्ताको भनाइ छ । रिट निवेदनकर्ताले रास्वपाका २० सांसद, केन्द्रीय पदाधिकारी र बागमती प्रदेशका पदाधिकारीलाई विपक्षी बनाएका छन् ।
अदालतले भोलि केही आदेश दिएमा रास्वपामा सांसदहरुले सडक प्रदर्शन गर्न पाउने छैनन् । अटेर गरेमा उनीहरु जेलसम्म जानुपर्ने हुनसक्छ ।
टिप्पणीहरू