राष्ट्र बैंकको निर्णय अदालतद्वारा बदर, डेपुटी गभर्नरको चाहनामा ‘ब्रेक’

राष्ट्र बैंकको निर्णय अदालतद्वारा बदर, डेपुटी गभर्नरको चाहनामा ‘ब्रेक’
सुन्नुहोस्

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले गरेको एक जना निर्देशक हटाउने निर्णय प्रशासकीय अदालतद्वारा बदर भएको छ । निर्देशक थानेश्वर आचार्यलाई विभागीय सजायअन्तर्गत सेवाबाट हटाइएको सम्बन्धमा बैंक सञ्चालक समितिलाई प्रतिवादी बनाउँदै निर्देशक थानेश्वरले दायर गरेको मुद्दामा अध्यक्ष डिल्लीराज घिमिरे,सदस्य रिता मैनाली र कृष्णप्रसाद पौडेलको इजलासले उक्त आदेश गरेको हो ।

सर्वोच्च अदालतबाट यसअघि भएका विभिन्न पाँच वटा आदेशलाई नजिर मान्दै प्रशासकीय अदालतले गरेको निर्णयमा आचार्यलाई पदबहाली गर्न भनिएको छ । गत चैत ६ गते सेवाबाट हटाइपछि उनी अदालतको शरणमा गएका थिए । अदालत स्रोतका अनुसार आदेशमा अधिकृत तृतीय तहको सिफारिसलाई कार्यकारी निर्देशक हुँदै डेपुटी गभर्नर र सञ्चालकले ठाडो सदर गर्नुले पीडितप्रति पूर्वाग्रह राखेको प्रष्ट भएको ठहर गरेको छ ।

बैंकले गत पुस २७ गते नगरकोटमा आयोजित आवासीय मनोरञ्जनात्मक कार्यक्रममा यौन दुर्व्यवहार भएको जनाउँदै एक जना डेपुटी गभर्नरले झण्डै एक महिनापछि बैंकमा मातहतको विभागलाई दबाब दिएको बताइन्छ । कागजातमा जुस लेखेर व्यवहारमा रक्सी चलाइएको उक्त कार्यक्रममा धेरैजसो अधिकृतहरु रात छिप्पिँदै गएपछि नशामा रमेका थिए ।

 

त्यसको धेरै दिनपछि टक्सार महाशाखामा कार्यरत निर्देशक आचार्यसँग सुनका सिक्का खरिद प्रयोजनका लागि आरोप लगाउने डेपुटी गभर्नर फोनमा कुरा गरेर बबरमहल नै पुगेको बताइन्छ । तर, त्योभन्दा धेरै दिनपछि पुस २७ गतेको कार्यक्रमको कुरो निकालेर उनले अधिकृत प्रथमभन्दा मुनिका महिला कर्मचारीहरु मात्र रहेको कमिटीबाट पुरुष अधिकृतलाई दोषी ठहर गर्दै कारबाही गर्नुपर्ने अडानमा पुगेको उच्च स्रोत बताउँछ । 

गभर्नर महाप्रसाद अधिकारी र केही सञ्चालकसँग कडा शब्दमा आफ्ना कुरा राखेर आचार्यलाई पदमुक्त गराउन डेपुटी अग्रसर भएपछि गभर्नर अधिकारी र सञ्चालकहरु मुद्दा जितेर आउने बलियो प्रमाण रहेको भन्दै उनलाई सेवाबाट हटाउन मन्जुर भएको त्यतिबेलै चर्चा चलेको थियो । आगामी चैतमा गभर्नरको निम्ति दौड शुरु गरेसकेकाले डेपुटी गभर्नर जसरी पनि उक्त घटनामा आचार्यलगायत अन्य केहीलाई मुछेर अघि बढेको घटनाक्रमले पनि देखाएको छ । 

प्रशासकीय अदालतको आदेश आउनुअघि आजै महिला आयोगको प्रतिवेदनलाई पनि बजार हल्लामा प्रयोग गरिएको बैंकका एक जना कार्यकारी निर्देशकले बताए । ‘नाम लिन भएन, तर के गर्नु हामीलाई त उहाँको कामकारबाही देखेर वाक्क लागिसक्यो । तर पनि गभर्नर बन्ने भन्दै दौडमा हिँड्नुभएको छ, यो पाराले न मुलुक, न संस्था, न कर्मचारीको भलो हुने देखिन्छ,’ ती कार्यकारी निर्देशकको निचोड छ । प्रशासकीय अदालतको आजको आदेशले बैंकका गभर्नर, डेपुटी गभर्नरलगायत सञ्चालकहरुको प्रशासकीय क्षमतामाथि नै प्रश्न चिन्ह उठाइदिएको छ ।

टिप्पणीहरू