कीर्तिपुरमा एसले माओवादीलाई सघाउने संकेत

कीर्तिपुरमा एसले माओवादीलाई सघाउने संकेत
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीले कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी नदिने संकेत गरेको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई सघाउनेगरी छलफल चलिरहेको सो पार्टीका एक नेताले जानकारी दिए । 

मंसिर १६ मा हुने उपचुनावमा माओवादीले प्रा.डा. शिवशरण महर्जनलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनमा रहेका दलसँग बाहेक चुनावमा तालमेल गर्नसक्ने निर्णय गरेको नेकपा एसले भने अहिलेससम्म उम्मेदवार तय गरेको छैन । 

कीर्तिपुरको मेयरसहित वडा नम्बर १ र ४ को अध्यक्षको लागि पनि उपचुनाव हुँदैछ । मेयर माओवादीलाई छोडेर वडामा आफ्नै उम्मेदवार उठाउने तयारीका साथ छलफल अघि बढेको उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईले बताए । 

वडाध्यक्षको उम्मेदवार छनोट गर्नेबारे पार्टीमा छलफल भइरहेको उनले जानकारी दिए । त्यस्तै, उपनिर्वाचन हुने काठमाडौं महानगरपालिकाको १६ नम्बर वडामा पनि उम्मेदवारी दिने एकीकृत समाजवादीको तयारी छ । 

काठमाडौँ-१६ मा माओवादी केन्द्रलाई सघाउन आग्रह गर्ने भट्टराईले बताए । बिहीबारसम्म उम्मेदवारको टुंगो लाग्ने उनको भनाई छ ।

टिप्पणीहरू