सांसदविरुद्ध कानुनी लडाईं लड्ने मन्त्रीको उद्घोष
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन व्यवसायीसमेत रहेका सांसद राजेन्द्र बजगाईंविरुद्ध कानूनी लडाईं लड्ने उद्धघोष गर्नुभएको छ ।
काँग्रेस नेतासमेत रहनुभएका मन्त्री पाण्डेले पार्टीकै सांसद बजगाईंको नाम नलिई आफ्नो इमान र निष्ठामाथि धावा बोल्नेविरुद्ध कानूनी लडाइँ लड्ने बताउनुभएको हो । बजगाईंले करोडौं घुस लिएर मन्त्री पाण्डेले क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका छन् ।
मन्त्रीले केही व्यक्तिले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिन आफूमाथि आरोप लगाएको दाबी गर्नुभएको छ । नाजायज लाभबाट व्यक्तित्व विकास गर्न खोज्नेहरु आफ्नो इमान्दार प्रयासबाट अत्तालिएको जिकिर गर्दै पाण्डेले भन्नुभयो ः पर्यटन क्षेत्रबाट नाजायज लाभ लिन खोजिरहेका मानिसहरु, जसको इमान र निष्ठा छैन, ती मानिसहरुले मेरो इमान्दार प्रयासलाई, मेरो निष्ठावान प्रयासलाई मानमर्दन गर्नेगरी मेरो मनोबल गिराएर यो क्षेत्रलाई फेरि हिलो पानीमा माछा मार्ने क्षेत्रकै रुपमा राखिराख्न र त्यसमा आफू सफल हुन, नाजायज फाइदा लिन, त्यसभित्र आफ्नो खेलो फड्कोलाई बलियो बनाउन त्यो प्रवृत्ति अगाडि आएको हो भन्ने आभाष भएको छ । त्यसकारण नैतिक बलका आधारमा म कानूनी र नैतिक लडाईं पनि लड्छु ।
इमान्दार मान्छेहरुले नैतिकताको बाटोबाटै संघर्ष र प्रतिवाद गर्नसक्ने उहाँको भनाइ छ । सरकार र पार्टीलाई केही नराम्रो गरेको छ भन्ने लागेको भए आफूमाथि छानबिन गर्न पनि उनले चुनौती दिएका छन् ।
आफूबाट कुनैपनि कमजोरी भएको भए सरकार र पार्टीबाट बाहिरिने घोषणा गर्दै मन्त्री पाण्डेले आकाशलाई सुरक्षित गर्न, जिडिपी बढाउन र पर्यटन प्रवद्र्धनका लागि आफूले सक्दो पहल गरिरहेको दाबी गर्नुभयो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित रोयल टाइगर प्यालेस क्रियशन प्रालिलाई क्यासिनो सञ्चालनको इजाजत पत्र दिन मन्त्री पाण्डेले घुस बुझेको बजगाईँको दाबी छ । क्यासिनोका सञ्चालकले मन्त्रीमार्फत् एक नेताको घरमा पुगेर पैसा बुझाएको बजगाईंको भनाई छ ।
हिजो क्यासिनोको इजाजत पत्रसमेत सार्वजनिक गर्दै भनिएको थियो,‘क्यासिनो सञ्चालकले हामीलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रष्ट गरे ।’
टिप्पणीहरू