हिजो बार्दलीबाट हात हल्लाएका रविलाई आज सुटुक्क निकालियो

हिजो बार्दलीबाट हात हल्लाएका रविलाई आज सुटुक्क निकालियो

सुप्रिम सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको दोस्रो दिनको बयान सकिएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बिहानदेखि शुरु भएको बयान साँझ सकिएको हो । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीहरूको उपस्थितिमा भएको ९ घण्टा लामो बयानमा ५० प्रश्न सोधिएकोमा उनले इन्कारी बयान दिएका छन् । 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई हिजो रुपन्देही पुर्याइएको थियो । हिजैबाट बयान शुरु भएकोमा उनले आरोप अस्वीकार गरेका थिए ।

हिजो बयान दिएर सरकारी वकिल कार्यालयबाट बाहिरिनेक्रममा लामिछानेले बार्दलीबाट हात हल्लाउँदै समर्थक र पत्रकारलाई छोटो सम्बोधन गरेका थिए । 'बाघलाई खोरमा थुन्दैमा स्याल नहुने' उनको प्रतिक्रियामा समर्थकले हुटिङ्ग गरेका थिए । आज पनि त्यसैगरी बोल्नसक्ने भएकाले  प्रहरीले कडा सुरक्षा घेरामा राखेर बाहिर निकालेको छ । 

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ जिबी राइको समूहसँग मिलेर गोरखा मिडिया नेटवर्क प्रालिका प्रवन्ध निर्देशक रहँदाका बखत अपचलन गरेको लामिछानेमाथि आरोप छ । जिल्ला अदालत रुपन्देहीले लामिछाने र उनका साझेदार पूर्वडीआईजी छविलाल जोशीसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

टिप्पणीहरू