हेटौंडामा विरासत जोगाउन माओवादीलाई धौ धौ, काँग्रेस रक्षात्मक
आगामी मंसिर १६ गते केही स्थानीय तहमा हुन लागेको उपनिर्वाचनमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका लागि पनि चुनाव गरिँदैछ । २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य ललित घलान वडाध्यक्षमा निर्वाचित भएका थिए ।
दोस्रोपटक निर्वाचन जितेका उनी राजीनामा दिएर जिल्ला समन्वय समितिको प्रमुखमा विजयी भए । घलानले राजीनामा दिएपछि वडाध्यक्ष पद रिक्त छ । प्रमुख दलहरुले चुनावलक्षित तयारी थालेका छन् । नेकपा एमालेले यसअघि वडाध्यक्षमा भिडेर हारेका राजेश नगरकोटी, नेपाली काँग्रेसले अघिल्लो निर्वाचनका उम्मेदवार अर्जुन तिवारीलाई अगाडि सारेको छ ।
माओवादीले रविन प्रधान र नेकपा एकीकृत समाजवादी पार्टीले बलराम बललाई उम्मेदवार बनाउने भएको छ । घलानले पछिल्लो निर्वाचनमा एक हजार ३७१ मत ल्याएका थिए । नगरकोटी ४६ मतले पराजित भएका हुन् । निकै प्रतिस्पर्धात्मक उक्त निर्वाचनको छाँया यसपटक देखिएला कि नदेखिएला ? हेर्न बाँकी छ । माओवादीलाई यसपटक आफ्नो बिरासत जोगाउनुपर्ने चुनौती छ ।
त्यसो त निकटतम प्रतिस्पर्धी बनेको काँग्रेसका तिवारी पनि जित्नैपर्ने दबाबमा छन् । वडामा माओवादी क्रमशः कमजोर बनिरहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एस, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत साना दल आफ्ना उम्मेदवार लिएर घर–घर पुग्ने क्रम जारी छ । यसले चर्को प्रतिस्पर्धाको छनक देखाएको छ । स्थानीय तह निर्वाचनपछिका एकाध घटनाले भने काँग्रेसलाई क्षति पुग्ने अनुमान गरिएको छ ।
काँग्रेसी उम्मेदवार तिवारी निकै विवादित व्यक्ति हुन् । हेटौंडाका पत्रकार रमेश बञ्जारालाई बलात्कार अभियोग लगाएर पुर्पक्षका लागि थुनामा पठाउने मुख्य योजनाकार उनी रहेको आरोप शुरुदेखि नै लाग्दै आएको छ । तिवारीले एक युवतीलाई बुलेट बाइकमा राखेर नाटकीय ढंगले बलात्कारको आरोप लगाउन सिकाएको सिसी टिभी फुटेजमा देखिएपछि नक्कली घटनाक्रम छताछुल्ल भएको थियो ।
यतिखेर बञ्जाराले ‘क्लिन चिट’ पाइसकेका छन् । प्रहरी र अदालतसँग समेत जोडिएका केही विवादित काममा उनको भूमिका रहेको स्थानीयको भनाइ छ । यस्तोमा प्रतिस्पर्धा झनै रोचक हुने देखिएको छ । काँग्रेसको मत कटाएर आफ्नोमा ल्याउन माओवादी र एमाले सफल होलान् ? भन्ने चर्चा हुन थालेको छ ।
टिप्पणीहरू