रविलाई रातिसम्म पोखरा पुर्याउने तयारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई भैरहवाबाट पोखरा लैजान लागिएको छ । रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले उनीसँगको बयान सकिएको जनाएपछि प्रहरीले राति ७ बजेसम्म पोखरा लैजाने तयारी गरेको छ ।
मौसमले साथ दिएमा पोखरा लगिने जनाउँदै रुपन्देही प्रहरी स्रोतले भनेको छ, ‘राति ७ बजेसम्म मौसममा कुनै खराबी नआए हवाई उडानमा पोखरा लगिन्छ । सुप्रिम काण्डको बयान सकिएकाले यता राख्नुपर्ने जरुरी देखिएन ।’
रविको समर्थनमा आज बुटवलदेखि भैरहवासम्म मोटरसाइकल र्याली निकालिएको छ । करिब एक सय वटा मोटरसाइकल हाँक्दै रास्वपा कार्यकर्ता तथा समर्थकहरुले लामिछानेको पक्षमा नाराबाजी गरेका हुन् ।
सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा प्रहरी हिरासतमा रहेका रविलाई अस्ति कास्कीबाट रुपन्देही पुर्याइएको थियो । पोखराको सूर्यदर्शनपछि बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणमा मुछिएपछि आवश्यक बयान र अनुसन्धानका लागि त्यहाँ पुर्याइएको हो ।
पूरक निवेदनको आधारमा बयानका लागि पोखराबाट बुद्ध एअरको विमानमा भैरहवा लगिएपछि उताबाट पनि विमानमा फर्र्काईंदै छ । लामिछानेलाई रुपन्देही पुर्याएपछि पोखराका सूर्यदर्शन सहकारी पीडितले झैँ भैरहवामा पनि सुप्रिम सहकारीका पीडितहरुले लगातार प्रदर्शन गरेका छन् । उनीहरुले आफ्नो बचत फिर्ताको माग गर्दै दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् ।
टिप्पणीहरू