यसकारण चार पालिकामा पुरुष उम्मेदवारी बर्जित
स्थानीय तहको आगामी उपनिर्वाचनमा चार पालिकाका उपप्रमुखमा महिला मात्रै उम्मेदवार हुन पाउने छन् । दोलखाको गौरीशंकर, जाजरकोटको नलगाड, हुम्लाको सार्केगाड र बाजुराको स्वामिकार्तिक गाउँपालिकाको उपप्रमुख पदका लागि महिलाले मात्रै उम्मेदवारी दिन पाउने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार ती पालिकाका प्रमुखमा निर्वाचित पुरुषहरू पदमा बहाल रहेकाले राजनीतिक दलहरुबाट महिला मात्रै उम्मेदवार बन्न पाउने छन् ।
यसअघि नै रिक्त स्थानीय तहको प्रमुख वा उपप्रमुख पदमा पुरुष निर्वाचित भए महिलाको एउटा पदमा मात्रै उम्मेदवारी हुने निर्णय गरिसकिएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७४ को दफा १७ (४) मा दलले स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिँदा ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेश गर्नुपर्ने व्यवस्था छ ।
जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचन तालिका अनुसार आगामी सोमबार उम्मेदवारी दर्ता गरिँदै छ ।
टिप्पणीहरू