त्रिवि अध्यागमनमा सुदूरपश्चिमको पकड, आफ्नालाई बाहेक अरुलाई ‘नो इन्ट्रि’
भिजिट भिसाको नाममा मौलाइरहेको मानव तस्करी रोक्न सरकारी संयन्त्र असफल हुँदै गएको गुनासो बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका अधिकृतहरु नै तस्करहरुसँगको साँठगाँठमा प्रत्यक्ष संलग्न हुनपुग्दा सरकारी निकायहरुले तस्करी नियन्त्रणमा प्रभावकारिता देखाउन नसकेको बताइन्छ ।
अध्यागमनका कर्मचारीमाथि म्यापावर कम्पनीका बिचौलिया, ट्राभल एजेन्सीका एजेन्ट, विदेशी एयरलाइन्सका कर्मचारीलगायत अन्य बिचौलियाको सेटिङमा यस्तो धन्दा चलाइएको आरोप लाग्दै आएको छ । सोही कारण पछिल्लो समय पहुँचका आधारमा त्रिविस्थित अध्यागमन कार्यालयमा जान कर्मचारीहरुले तँछाड मछाड गर्न थालेका हुन । उक्त कार्यालयमा कार्यरत करिब १३० जना कर्मचारीमध्ये अहिले ४० जना सुदूरपश्चिमको मात्रै रहेको भनिन्छ ।
यसैबीच गृह मन्त्रालयले यो साता दुई दर्जनजति कर्मचारीको अध्यागमन विभागमा सरुवा गरेको छ । उनीहरुलाई त्रिवि कार्यालयमा लैजाने विभागमा लगिएको हो । विभाग पुगेकामध्ये केही तेस्रोपटक अध्यागमन कार्यालय एयरपोर्ट जाने चाँजोपाँजोमा रहेको बुझिन्छ ।
पटक–पटक एउटै कर्मचारीलाई छानेर त्रिवि अध्यागमनमा पठाउन लागिएको खबर बाहिर आएपछि हाललाई पुरानालाई नपठाउन गृहमन्त्री रमेश लेखकले महानिर्देशक गोविन्द रिजाललाई निर्देशन दिएका हुन् । रिजाललाई मन्त्रालयमै बोलाएर आधा दर्जन त्यस्ता कर्मचारीलाई अहिले त्यता नपठाउन मन्त्रीले निर्देशन दिएपछि विभागले सोहीअनुसार निर्णय गरेको स्रोतको दाबी छ ।
यसअघि केही अधिकृत तेस्रो पटकसमेत त्रिवि अध्यागमन कार्यालयमा जान सफल हुने चर्चा राम्रैसँग चलेको थियो । मन्त्रालयसम्मै पहुँच पुर्याएर खेलोमेलो गरेकाको भिजिट भिसाको नाममा अवैध ढंगले विदेश पठाउने म्यानपावर कम्पनी, मानव तस्करका एजेण्ट, ट्राभल एजेन्सी र विदेशी एयरलाइन्ससँग सोझो सम्पर्क रहेको धेरैको भनाई छ ।
मानव तस्करहरुसँग सेटिङ मिलएर अध्यागमन अधिकृतहरुले प्रतिव्यक्ति २० देखि २५ हजार असुल्दै मलेसिया, खाडीलगायत मुलुकमा आँखा चिम्लेर कामदार पठाएको विगतदेखि आरोप छ । युद्धग्रस्त रुसदेखि जापान, दक्षिण कोरिया, अफ्रिका हुँदै युरोपियन मुलुकहरुमा भिजिट भिसामा सेटिङ्ग मिलाएर कामदार पठाउँदा प्रतिकामदार ५० देखि ६० हजारसम्म अतिरिक्त रकम लिने गरेको विमानस्थल स्रोतले बतायो ।
पछिल्लो सरुवामा विभाग पुगेका अधिकृत खगराज गौतम, प्रभा अर्याल, दिपक पाण्डे, बबिता मरासिनी, देवी चालिसे, केशव बस्याल, सुवास पौडेल, रेश्मा बूढा क्षेत्री र सरोज खनाल दोस्रो पटक अध्यागमन कार्यलयमा जान तम्तयार भएर बसेको समकक्षीहरुको आरोप छ । गृहमन्त्री लेखकका गाउँले नरेन्द्र कुँवर तेस्रो पटक एयरपोर्ट सरुवा मिलाउने दौडमा देखिन्छन् । ताहाचलस्थित वैदेशिक रोजगार विभागमा छँदा उनी विवादमा तानिएका थिए ।
त्यस्तै, चौथो पटक त्रिवि अध्यागमन कार्यालय जान कम्मर कसेर लागेका शम्भु ठगुन्ना र भोजबहादुर एडी पनि सुदूरपश्चिमकै हुन् । गृहमन्त्रीको निर्देशनपछि उनीहरुको एयरपोर्ट जाने रहरमा तत्काल ब्रेक लागेको छ ।
वैदेशिक रोजगार विभागबाट सरुवा भई गएका अधिकांश कर्मचारी एयरपोर्ट अध्यागमन कार्यालयमा हाजिर भएकै भोलिपल्टदेखि मानव तस्करी र बेचबिखनमा संलग्न तस्कर र ट्राभल एजेन्सीसँग सम्पर्कमा रहने गरेको विगतमा देखिएको थियो । वैदेशिक रोजगार कार्यालयमा काम गर्दा बदनामी कमाएका शाखा अधिकृत कृष्णहरी न्यौपानेलाई धेरैले उदाहरणको रुपमा देखाउने गरेका छन् । सिन्धुलीका एक काँग्रेसी नेताको छोरा भएकाले त्यसैको आडमा उनी दोस्रोचोटि अध्यागमन कार्यालय पुगेका हुन् ।
यसैगरी, वैदेशिक रोजगार कार्यालयमा काम गरिसकेकी शाखा अधिकृत लक्ष्मी भुसाल र रामचन्द्र शिवाकोटी तेस्रो पटकसम्म अध्यागमन कार्यालयमा पुग्न सफल भएका छन् । उनीहरुमाथि पनि अनेक आरोप लागेकै थियो । लक्ष्मीलाई एमाले कर्मचारी संगठनका उपाध्यक्ष प्रभाष साहको आडभरोसामा त्यहाँ पठाइएको बताइन्छ ।
रामचन्द्रको भने अदालतको आदेशपछि त्यहिँ थमौती भएको छ । उनलाई मन्त्रालयले सरुवा गरेर भैरहवा पठाएकोमा ‘मेरो होशले काम गर्दैन’ भनेपछि अदालतले थमौतीको आदेश दिएको हो । विदेशीलाई भिसाबिना नेपाल छिराएको आरोप लागेका उनी यसअघि विभागीय कारबाहीमासमेत परेका थिए ।
टिप्पणीहरू