विवादित उम्मेदवारका कारण मकवानपुर काँग्रेसको उछित्ताे
अन्यत्र झैँ हेटौडा उपमहानगरपालिका १२ मा पनि उपचुनावको सरगर्मी बढेको छ । उम्मेदवारहरु चुनावी गतिविधिमा सक्रिय भएको अवस्थामा नेपाली काँग्रेसले उम्मेदवार तोकेका अर्जुन तिवारीको एकपछि अर्को काण्ड बाहिरिएको छ । यसले कांग्रेस मतदाता र मकवानपुरबासीलाई रुष्ट बनाएको अनुमान छ ।
२०७९ वैशाखको स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा विजयी ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त पदमा मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो । तर काँग्रेसबाट उम्मेदवार सिफारिस भएकाले चोरीको बाइक प्रयोग गरेर विगतमा हेटौंडाका एकजना पत्रकारलाई गम्भीर अपराधमा फसाउन खोजेको विगतको रहस्य एकाएक बाहिरिएको छ ।
काँग्रेस मकवानपुरको जिल्ला कमिटी सदस्य तिवारीले प्रयोग गर्दै आएको बुलेट बाइक चोरीको भएको आशंका छ । उनले मोटरबाइकको नम्बर परिवर्तन गरि चलाउँदै आएको रहस्य बाहिरिएको छ । तिवारीले प्रयोग गरेको बुलेट बाइकमा भएको नम्बर उक्त बुलेटको नम्बर नभएको दाबी छ । मोटरसाइकलको नम्बर यातायात व्यवस्था कार्यालयमा यमाहा कम्पनीको रेजेड स्कुटरको नम्बर रहेको यथार्थ बाहिरिएको छ ।
चितवन भरतपुर महानगरपालिका १ का प्रतिक अधिकारीले प्रयोग गरेको स्कुटरको नम्बर राखेर तिवारीले चोरीको बुलेट बाइक चलाएको भन्न थालिएको छ । यसबाट उप निर्वाचनमा उठाइएको उम्मेदवारका कारण काँग्रेस नै बदनाम हुने स्थिति आएको हो । तिवारीको बुलेटमा प्रदेश ३–०३–००२–७९३२ नम्बर राखिएको छ । तर उक्त नम्बर चितवनका प्रतिक अधिकारीले चलाउने स्कुटरको रहेको अभिलेखमा छ । उक्त बुलेट चोरीको भएकाले फर्जी नम्बर राखेर चलाएको भनिन्छ।
चोरीको बाइक चलाउने र फर्जी काम गर्नेलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएपछि कांग्रेस मकवानपुरको कार्यशैलीले चोरलाई चौतारो र सज्जनलाई सुली भन्ने उखान चरितार्थ भएको छ । तिवारी तिनै हुन् जसले हेटौंडाका एक पत्रकारलाई फसाउन पैसाको लोभमा ग्रामीण महिला प्रयोग गरेर झुठो मुद्दाको निम्ति उक्साएका थिए ।
तिवारीले ०७९ चैत ३० मा एक महिलालाई पैसाको लोभ देखाएर हेटौंडाका पत्रकार इन्द्रप्रसाद बन्जारा रमेशलाई झुठो मुद्दा चलाउन उक्साएका थिए । उनले ती महिलालाई सोही बाइकमा राखेर हेटौंडा १० मा रहेको सिसौघारीलाई नक्कली घटनास्थल बनाउने प्रयास गरेका थिए । सोसम्बन्धी फुटेज हेटौडा खबरले सार्वजजिनक गरेपछि तिवारीले बुलेट बाइक एकाएक गायब बनाएका थिए ।
अनुसन्धानमा तानिने डरले गायब बनाइएको उक्त बुलेटको अहिलेसम्म कुनै पत्तो नभएको काँग्रेसका एक जिल्ला सदस्यले बताए । काँग्रेस जिल्ला सभापति बुद्ध लामालाई बाइक चोरीलगायत विभिन्न आरोप लागेकालाई किन उम्मेदवार बनाइएको ? भन्ने जिज्ञासा राख्दा बुझेर जवाफ दिने भन्दै पन्छिएका छन् ।
टिप्पणीहरू