जनप्रतिनिधिले खाने,पत्रकारले लुकाउने !

जनप्रतिनिधिले खाने,पत्रकारले लुकाउने !
सुन्नुहोस्

रोल्पाको माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्तीले ३६ लाख भ्रष्टाचार गरेको भन्दै आलोचना भइरहेको छ । अन्य जनप्रतिनिधिदेखि राजनीतिक दलका नेता-कार्यकर्तासम्मले उनको चर्को विरोध गरिरहेका छन् ।

अध्यक्षमाथि प्रश्न गर्दै गाउँपालिकाको कार्यालय नै घेराउ गर्न पुगेका विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच अस्ति धकेलाधेकलसमेत भएको थियो । अध्यक्ष घर्ती कार्यालयको मूल गेटमा भित्रबाट भोटे ताल्चा लगाएर लुकी बस्नुपर्ने अवस्था निम्तियो ।

'यस्तो रोइलो पनि कतै हुन्छ ? प्रेस संयोजक भन्दै गाउँपालिकाबाट तलब भत्ता लिने,अनि आफैँ स्टेशन म्यानेजर भएको रेडियोमा लाखौँ पैसा पनि पठाउने, के हामीलाई मूर्ख सोचेका हुन् ?' 

यसैबीच गाउँपालिकाका प्रेस संयोजक बुद्धिमान वलीमाथि पनि अध्यक्ष घर्तीको कर्तुत लुकाएको आरोप लागेको छ । अपारदर्शी ढंगले प्रेस संयोजक नियुक्त भएको र शंकास्पद गतिविधि गरेको भन्दै विपक्षीहरुले प्रश्न उठाएपछि उनी विवादमा तानिएका छन् ।

वली रेडियो माडीका स्टेशन म्यानेजरसमेत हुन् । उक्त रेडियो गाउँपालिकाकै बजेटमा स्थापना भएको बताइन्छ । पालिकाबाट वर्षेनी लाखौँ रकम रेडियोमा जाने गरेको एक जनप्रतिनिधिले दाबी गरे । नाम नखुलाउने शर्तमा उनले भने,'यस्तो रोइलो पनि कतै हुन्छ ? प्रेस संयोजक भन्दै गाउँपालिकाबाट तलब भत्ता लिने,अनि आफैँ स्टेशन म्यानेजर भएको रेडियोमा लाखौँ पैसा पनि पठाउने, के हामीलाई मूर्ख सोचेका हुन् ?' 

उता विप्लव समूहले वलीको राजीनामा मागेको छ । जिल्ला इञ्चार्ज असिना सि र सेक्रेटरी सन्दिप सिले सुझाव पत्र जारी गर्दै नैतिकता देखाउन आग्रह गरेका छन् ।

 'तपाईं कसरी एक्कासी प्रेस संयोजक नियुक्त हुनुभयो ?' प्रश्न गर्दै उनीहरुले वलीको नियुक्ति कानुनविपरित भएको दावी गरेका छन् । पत्रमा भनिएको छ, ‘इमान्दारीपूर्वक त्यो पदबाट तपाईंले राजीनामा गरी एउटा सभ्य नागरिकको परिचय दिन अनुरोध छ ।’

वलीलाई रेडियोको आय-व्याय १५ दिनभित्र सार्वजनिक गर्न पनि चेतावनी दिँदै भनिएको छ, ‘रेडियोको आय-व्याय हेर्न र बुझ्न पाउने अधिकार आम नागरिकको हुन्छ, त्यसैले स्थापनाकालदेखि हालसम्मको आय-व्याय १५ दिनभित्र देखाउनुहुन अनुरोध गर्दछौँ ।' 

हिसाबकिताब नदेखाएमा जनताको सल्लाहमा आवश्यक कारवाही गर्ने विप्लव समूहले बताएको छ ।

टिप्पणीहरू