मन्त्री र महामन्त्रीबीच दह्रो कटाक्ष

मन्त्री र महामन्त्रीबीच दह्रो कटाक्ष
सुन्नुहोस्

ऊर्जा,जलस्रोत तथा सिन्चाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माबीच संसदीय समितिमा सवाल–जवाफ भएको छ । 

आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कान्छारामको कम्पनी कालोसूचीमा परेको विषय विश्वप्रकाशले उठाएपछि उनीहरु वादप्रतिवादमा उत्रिएका हुन् । शुरुमा विश्वप्रकाशले कान्छारामलाई कालोसूचीबारे प्रष्ट पार्न भनेका थिए । 

'तपाईंको कम्पनी कालोसूचीमा परेको कुरा आएको छ,यसबारे स्पष्ट पार्नुहोस्', विश्वप्रकाशको चासोमा कान्छारामले भने,‘सांसदको टिकट पाउनुभन्दा साढे दुई वर्षअघि नै हात उठाएर कम्पनीबाट बाहिर निस्केको छु । अहिले  कानुनले ठहरे एक मीनेट पनि पदमा बस्दिन ।’

ठेक्का लिएर काम अलपत्र पार्ने र कालोसूचीबाट उन्मुक्ति पाउने स्थिति अन्त्य हुनुपर्ने विश्वप्रकाशको धारणामा काँग्रेसकै केही सांसदले समर्थन गरेका थिए ।

बैठकमा सत्ता र प्रतिपक्ष दलका सांसदहरुले कम्पनी कालोसूचीमा पर्नुको कारणबारे प्रश्न तेर्स्याएपछि टालटुले जवाफ दिएका कान्छारामले भने मन्त्री हुनुअगावै कम्पनीबाट बाहिरिएको तर्क गरेका छन् ।

कांग्रेस रामेछापका सभापतिसमेत रहेका कान्छाराम विवादित ठेकेदार हुन् । उनको कम्पनी ‘कान्छाराम कन्स्ट्रक्सन’ माथि दर्जनौँ सरकारी ठेक्का लिने तर काम अलपत्र पार्ने आरोप लाग्ने गरेको छ । 

पछिल्लो पटक कात्तिक २३ गते सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम/एनबी जेभीलाई कालोसूचीमा राखेको सूचना निकालेको थियो । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन तुम्लिङटारको सिफारिसबमोजिम कम्पनी साढे दुई वर्षका लागि कालोसूचीमा परेको हो । 

 ‘क’ वर्गका ठेकेदार कान्छाराम यसअघि व्यक्तिगत रुपमा पनि कालोसूचीमा परिसकेका छन् ।

टिप्पणीहरू