कांग्रेसलाई उम्मेदवार छान्नै कठिन
आगामी मंसिर १६ गते विभिन्न कारणले रिक्त भएका स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले आइतबार मनोनयन दर्ताको मिति तोकेको छ ।
उम्मेदवारी मनोनयनको समयसीमा घर्किंदै जाँदासमेत नेपाली कांग्रेसले भने अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन । नेकपा एमाले र माओवादी केन्द्रसहित साना दलले समेत अधिकांश उम्मेदवार फाइनल गर्दा सबैभन्दा ठूलो दल कांग्रेसले भने अहिलेसम्म मात्र १० ठाउँमा उम्मेदवार टुंग्याएको छ ।
कांग्रेसले आज विज्ञप्ति सार्वजनिक गर्दै रिक्त ४४ पदमध्ये १० स्थानमा उम्मेदवार छनोट गरेको जानकारी दिएको हो । जसअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा बलराम सरदार छानिएका छन् ।
त्यस्तै, ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३ को वडाध्यक्षमा भीमकुमार लक्सम्वा, झापाको कन्काई नगरपालिका–६ मा रामगोपाल वली र तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा नगेन्द्र लिम्बूलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय छ ।
सुनसरीको गढी गाउँपालिका–६ मा तेतर साह, ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा घनश्याम दाहाल र गोरखाको गोरखा नगरपालिका–५ मा भाइकाजी आले वडाध्यक्षको उम्मेदवार बनेका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडाध्यक्षमा सञ्जीव काफ्ले र बेलका नगरपालिका–९ मा नवराज बस्नेतलाई टिकट दिइएको छ । कांग्रेसले जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा टेकराज भट्टराईलाई उठाउने छ ।
बहुचर्चित कीर्तिपुर नगरपालिकाको मेयरसहित ३४ ठाउँमा काँग्रेसले उम्मेदवार तय गर्न सकेको छैन । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बाँकी उम्मेदवार पनि छिट्टै टुंगो लाग्ने बताए ।
उपनिर्वाचन हुन लागेका अधिकांश पदमा यसअघि कांग्रेसले जितेको थियो ।
टिप्पणीहरू