सभामुख र माननीयको वडाध्यक्षमा छानिए पाँच उम्मेदवार
कमल भट्टराई
ताप्लेजुङको सिरीजंघा गाउँपालिका ३, सिकैचाको वडाध्यक्ष उपनिर्वाचनमा विभिन्न पाँच राजनीतिक दलले उम्मेदवार तय गरेका छन् । नेकपा एमालेका कुमारी साउदेन, नेपाली काँग्रेसले भीमकुमार लक्सम्बा, माओवादी केन्द्रका अम्बि साउदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट रनध्वोज काँभाले प्रतिस्पर्धा गर्ने भएका छन्।
एमालेले यसअघिको निर्वाचनमा चार मतले पराजित कुमारी साउदेनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । नेपाली काँग्रेस र माओवादीबीच भएको त्यतिबेलाको चुनावी गठबन्धनमा एमाले उम्मेदवार त्यतिबेला चार मतले मात्रै पराजित भएका थिए ।
माओवादी उम्मेदवार अम्बि र कुमारी एकै परिवार र एउटै टोल हुन् । सोही कारण मत विभाजित हुने अनुमान गरिएको छ । तर पाँचै दलका उम्मेदवारले आफ्नो मत सुरक्षित गरेमा आफ्नो उम्मेदवारको विजय सुनिश्चित रहेको एमाले जिल्ला कमिटी सचिव सन्तोष चामलिङले बताए ।
ताप्लेजुङमा मंसिर १६ गते एक स्थानमा मात्र उपनिर्वाचन हुन लागेको हो । उक्त वडा नेपाली काँग्रसका नेता तथा संघीय सांसद लीलादेवी बोखिमका साथै सभामुख देवराज घिमिरेको पनि जन्मस्थल भएकाले महत्वका साथ हेरिएको छ ।
टिप्पणीहरू