ज्वाईं प्रहरी हिरासतमा, श्रीमतीसहित ससुराली खलकलाई कैद सजाय

ज्वाईं प्रहरी हिरासतमा, श्रीमतीसहित ससुराली खलकलाई कैद सजाय
सुन्नुहोस्

एक महिनादेखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलसहित उनको माइतीका चार जनाविरुद्ध सुनाइएको कैद सजाय हालसम्म कार्यान्वयन भएको छैन । श्रम अदालतका न्यायाधीशहरु वासुदेव आचार्य,प्रेमकुमार राई र निशा बानियाको संयुक्त इजलासले २०७९ जेठमा निकिता,उनका पिता तथा रविका ससुरा,दाइ निरज पौडेल र भाइ निरक पौडेललाई एक महिना कैद आदेश गरेको थियो ।

तत्कालीन गोपीकृष्ण मुभिज प्रालिका ती ४ सञ्चालकविरुद्ध अदालतको आदेश नटेरेवापत ज्ञानेन्द्र खड्काले हालेको निवेदनउपर फैसला सुनाउँदै कैद सजाय तोकिएको थियो । रविका श्रीमती,ससुरा,जेठान र सालो सञ्चालक रहेको कम्पनी तथा हाल अस्तित्वमा नरहेको गोपीकृष्ण मुभिजले श्रमिकहरूलाई पारिश्रमिक नदिएकोमा अदालत गुहारिएको हो । 

निश्कासित श्रमिकहरुले काम गरेको वर्षको थप एक महिना तलबसहित सबै सेवा सुविधा र पारिश्रमिक भुक्तानी गर्न माग गरेकोमा  पौडेल परिवारले उक्त आदेश कार्यान्वयन नगर्दा अदालतको अवहेलनासमबन्धी मुद्दा परेर एक महिना कैद सजाय भएको हो । उक्त आदेश भएको साढे दुई वर्ष नाघे पनि प्रहरीले हालसम्म कोही कसैलाई पक्राउ परेको छैन । 

यता सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुछिएका रविमाथि कास्की प्रहरी र रुपन्देही प्रहरीले बयान र अनुसन्धान गरिरहेका छन् । संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा रविले गोरखा मिडियाको प्रबन्ध निर्देशक छँदा  ८१ लाखभन्दा बढी रुपैयाँ ससुरालीको नाममा रहेको गोपीकृष्ण मुभिजलाई दिएको उल्लेख छ ।

टिप्पणीहरू