जिसस प्रमुखमा एमालेले कांग्रेसलाई जिताउने
कुनै पनि तहको चुनावमा तालमेल नगर्ने भन्दै आएको सत्तारुढ नेकपा एमालेले जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा भने नेपाली काँग्रेसलाई सघाउने भएको छ । दुई दलबीच कांग्रेस उम्मेदवारलाई जिताउने सहमति भएको हो ।
कांग्रेस कैलाली सभापति नारायणदत्त भट्ट, उपसभापति खेमराज डङ्गौरा, सचिव केशव मिश्र र एमाले इञ्चार्ज नारदमुणि राना, अध्यक्ष यज्ञराज ढुङ्गाना, सचिव ममता चौधरीलगायतका नेता बसेर तालमेलको सहमति गरेको बताइएको छ । सहमतिसँगै एमालेका जनप्रतिनिधिहरुले कांग्रेस उम्मेदवार टीकाकुमारी भूललाई मतदान गर्नेछन् ।
२०७९ साल पुस २३ गते जिसस प्रमुखमा कांग्रेसका पदम कलेल निर्वाचित भएका थिए । उनको निधन भएपछि रिक्त पदमा मङ्सिर १६ गते उपचुनाव हुँदैछ ।
योसहित देशका विभिन्न स्थानीय तहमा रिक्त ४४ पदमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ताको मिति तोकिएको छ ।
टिप्पणीहरू