निर्वाचन आचारसंहितासँगै उम्मेदवारी दर्ता
निर्वाचन आयोगले आजदेखि आसन्न उपनिर्वाचनका लागि आचारसंहिता लागू भएको जनाएको छ । उपनिर्वाचन हुने जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू भएको बताइएको छ ।
आजदेखि नेपाल सरकार र मन्त्रीहरु, प्रदेश सरकार र प्रदेशमन्त्रीहरु, संवैधानिक निकाय र सोका पदाधिकारीहरु, नेपाल सरकार तथा प्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लागेको छ ।
त्यसैगरी राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पदधारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी र विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीलाई पनि आचारसंहिता लागू भएको आयोगले जनाएको छ ।
आयोगको आचारसंहिता मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकायले पनि पाला गर्नुपर्ने छ ।
आगामी १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ताको निर्वाचन कार्यतालिका छ । बिहान १० देखि अपरान्ह ५ बजेसम्म तोकिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोयन दर्ता गर्नुपर्ने छ । स्थानीय तहका रिक्त ४४ पदमा निर्वाचन हुँदैछ ।
साँझ ५ देखि ६ बजेसम्म प्रकाशित हुने उम्मेदवारको सूचीमाथि भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । पर्सि साँझ ५ देखि ६ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
बुधबार बिहान ९ देखि अपरान्ह १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने, सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरेर दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिँदै छ । १६ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम छ ।
आयोगका अनुसार जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ पदमा निर्वाचन हुँदैछ ।
टिप्पणीहरू