कीर्तिपुरमा बाबुरामका उम्मेदवार सबैभन्दा अगाडि
कीर्तिपुर नगरपालिकाको मेयरमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जनले सबैभन्दा पहिला उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन् । अन्य राजनीतिक दलका तर्फबाट पनि उम्मेदवारी दर्ता गर्न आउनेक्रम क्रमश: शुरु भएको छ ।
कीर्तिपुरको मेयरमा नेपाली कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र महर्जन र नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन उम्मेदवार छन् ।
एकीकृत समाजवादी र नेसपाको महिन्द्रराय यादव समूहले भने माओवादी केन्द्रका उम्मेदवार शिवशरणलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
स्थानीय तहका रिक्त ४४ पदमा मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । भोलि उम्मेदवारको विरोधमा उजुरी र पर्सि बेलुकासम्म उजुरीउपर जाँचबुझ गरी निर्णय लिने निर्वाचन कार्यतालिका छ । ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र सोही दिन चुनाव चिह्न प्रदान गरिने छ ।
टिप्पणीहरू