'स्क्यामर'लाई फूलमाला लगाइदिने मन्त्री भण्डारीको कार्यक्षमतामाथि प्रश्न
आर्थिक मन्दीका कारण व्यापार-व्यवसाय चौपट्ट छ । उद्योगधन्दा चल्न सकेका छैनन् । जसका कारण दिनानुदिन युवा शक्ति पलायन बढिरहेको छ । यस्तोमा उद्योग-व्यवसायमा लगानी भित्र्याएर समग्र अर्थतन्त्र सपार्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वदायी भूमिका रहन्छ । र, विभागीय मन्त्रीको पहलकदमी अपेक्षा गरिन्छ ।
तर, दुई तिहाई सरकारका उद्योगमन्त्री दामोदर भण्डारीको ध्यान त्यसतर्फ केन्द्रित छैन । मुलुकको आर्थिक स्थिति र मन्त्रीको प्राथमिकतासँग बेखबरजस्तै उनी झिनामसिना कार्यक्रममा रमिरहेको देखिन्छ । कतिसम्म भने उनी एकजना ‘स्क्यामर’लाई सम्मान गर्ने कार्यक्रममा समेत पुगेका छन् ।
आफूलाई दुर्लभ बुद्धिमता दावी गरेर स्क्याम गर्दै हिँड्ने व्यक्ति हुन् विजय शाही । अपत्यारिला दावी र अस्वभाविक हर्कतको कारण समाजिक सञ्जालमा भाइरल उनी कहिले आठ सय पेजको पुस्तक एक मिनेटमै पढेर सिध्याउने दावी गर्छन् त कहिले मरेको मान्छेलाई बचाउन सक्छु भन्दै स्क्याम हान्छन् ।
‘बुक अफ दी वल्र्ड रेकर्ड’मा नाम लेखाइसकेको दावी गर्ने शाहीले केही राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ता दिएर धेरैलाई बेबकुफसमेत बनाउन भ्याइसकेका छन् । यसरी भ्रम फैलाएर समाजिक सद्भाव र शैक्षिक विश्वासमाथि प्रहार गर्ने उनलाई कानुनी दायरामा ल्याउनुपर्ने हो । तर, उद्योगमन्त्री भण्डारीले भने तीनै शाहीलाई फूलमाला लगाइदिएर सम्मान गरेका हुन् ।
उक्त भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि मन्त्री भण्डारीको चर्को आलोचना भैरहेको छ । मन्त्रालयमा काम लिएर जानेलाई भेटको समय नदिने तर ठगहरुको कार्यक्रममा पुग्ने भन्दै उनको विरोध भएको हो ।
'इम्पोसिबल टु पोलिबल रिर्सच सेन्टर' नामक एक संस्थाले कार्तिक २४ गते कीर्तिपुरको एउटा सानो कोठामा नयाँ वल्र्ड रेर्कडको औपचारिक घोषणा कार्यक्रम राखेको थियो । त्यहाँ शाहीले ‘१५ घण्टामा तीन सय पुस्तक पढेर नयाँ रेर्डड’ राख्ने अपत्यारिलो दावी गरिरहेका थिए । उनले कार्यक्रममा डेमो देखाउने प्रयास गरे, तर १५ घण्टा कोसँग हुन्थ्यो र !, मन्त्री भण्डारीले डेमो शुरु गर्नुअघि नै शाहीलाई खादा लगाएर सम्मान गरे ।
त्यसो त, एमालेबाट मन्त्री बनेका भण्डारीको कार्यक्षमतामाथि प्रश्न उठ्ने गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि सन्तुष्ट नरहेको बताइन्छ । भण्डारीलाइ फिर्ता बोलाएर अर्को व्यक्तिलाई पठाउने तहमा एमालेभित्र कुरा उठ्न थालेको बुझिएको छ ।
एमालेका एक सांसद भन्छन्, ‘अध्यक्षज्यू दुई/तीन जना मन्त्रीको कामसँग खासै सन्तुष्ट हुनुहुन्न । आन्तरिकरुपमा सचेत गराइरहनुभएको छ । मन्त्रीहरुले आफूलाई सुर्धान सक्नुभएन भने प्रधानमन्त्रीज्यूले नयाँ निर्णय लिने सम्भावना छ ।’
टिप्पणीहरू