कीर्तिपुरमा रास्वपा अझै अलमल

कीर्तिपुरमा रास्वपा अझै अलमल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिने-नदिने अलमलमा देखिएको छ । निर्वाचन आयोगले तोकेको उम्मेदवारी मनोनयनको समय केही घण्टा बाँकी रहँदा रास्वपा अनिर्णित बनेको हो । 

उम्मेदवारी दिने वा नदिनेबारे छलफल भइरहेको केन्द्रीय निर्वाचन परिचालन संयोजन समितिका संयोजक एवं सांसद गणेश पराजुलीले जानकारी दिए । 

‘हाम्रो छलफल जारी नै छ । उम्मेदवारी दर्ता समय बेलुकासम्म छ । त्यसअगावै हामी निष्कर्षमा पुग्छौँ', उनले भने, 'सकभर उम्मेदवारी दर्ता गर्ने भन्ने नै हो । कीर्तिपुर नगरपालिका जस्तो क्षेत्रबाट पछि हट्ने भन्ने होइन ।' 

यसअघि रास्वपाले जयराम कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, अहिलेसम्म आधिकारिकरूपमा घोषणा भने गरिएको छैन । 

उपचुनावका लागि रास्वपाले प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) बाट उम्मेदवार टुंगो लगाउने निर्णय गरेको थियो । त्यसअघि उसले उम्मेदवार बन्न चाहनेलाई शुल्क तिरेर फाराम भर्न आह्वान गरेको थियो । 

कीर्तिपुरको मेयरका लागि एकजनाको मात्र दरखास्त परेपछि रास्वपा उम्मेदवारी नै नदिने मुडमा पुगेको बुझिएको छ ।

टिप्पणीहरू