हुण्डी कारोबार बढेकोमा दूतावासको चिन्ता
इजरायलको तेलअबिबस्थित नेपाली दूतावासले पैसा पठाउँदा आधिकारिक माध्यम अपनाउन त्यहाँस्थित नेपाली समुदायलाई आग्रह गरेको छ ।
हुण्डीलगायत अवैधानिक माध्यमबाट रकम पठाउने गरेको गुनासोपछि दूतावासले सार्वजनिक सूचनामार्फत सतर्क गराएको हो । हुण्डी, सापटी, ढुकुटीलगायतका माध्यमबाट रकम पठाउँदा सिर्जित व्यक्तिगत लेनदेनका गुनासोहरु नियमित आइरहेको दूतावासले जनाएको छ ।
ग्लोबल रेमिट, वर्ल्डकोम फाइनेन्स, जिएमटी, बैंकबाट रकम पठाउन आग्रह गर्दै दूतावासले बिचौलियाको मिठो बोली र क्षणिक विश्वासमा नपर्न सजग गराएको छ ।
‘इजरायलमा विभिन्न रोजगार गरी बस्नुभएका नेपाली समुदायहरुलाई आफ्नो परिश्रमको कमाई उचित वैधानिक माध्यमबाट आफ्नो देश पठाई विभिन्न खाले जोखिमहरुबाट टाढा रहन र हुण्डी कारोबारहरुबाट सिर्जित व्यक्तिगत लेनदेनका विषयहरुमा दूतावासमा नियमितजस्तो गुनासोहरु आइरहेको हुँदा कुनैपनि बिचौलियाहरुको मिठो बोली र क्षणिक विश्वासमा नपर्न हुन सबै प्रवासी नेपालीहरुमा यस राजदूतावास विशेष अनुरोध गर्दछ’,सूचनामा उल्लेख छ ।
टिप्पणीहरू