कैलाली र ओखलढुंगामा काँग्रेसलाई एमालेको साथ

कैलाली र ओखलढुंगामा काँग्रेसलाई एमालेको साथ

सत्तारुढ नेकपा एमालेले जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा उम्मेदवारी नदिने भएको छ । नेपाली काँग्रेसलाई समर्थन गर्दै एमालेले उम्मेदवार नउठाउने निर्णय गरेको हो ।  

तत्कालीन जिल्ला समन्वय समितिका प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै रिक्त रहेको उक्त पदमा मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । कांग्रेसले टेकराज भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

शनिबार कांग्रेस पार्टी कार्यालयमा बसेको सत्तारूढ दलहरुको बैठकले जिसस प्रमुखमा एमालेले कांग्रेसलाई सघाउने सहमति भएको एमाले ओखलढुंगाका उपाध्यक्ष कमलप्रसाद न्यौपानेले बताए । कांग्रेसले केहीबेरमा उम्मेदवारी दर्ता गर्दैछ । 

कुनै पनि तहको चुनावमा तालमेल नगर्ने दावी गर्दै आएको एमालेले यसअघि जिसस कैलालीको प्रमुखमा पनि काँग्रेसलाई सघाउने निर्णय गरिसकेको छ । 

जिल्ला समन्वय समितिको निर्वाचनमा पालिका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । आठ स्थानीय तह रहेको ओखलढुंगामा कांग्रेसको एकल बहुमत छ । 

यहाँका १६ प्रमुख र उपप्रमुखमध्ये कांग्रेस नौ, एमाले पाँच, माओवादी केन्द्र र जसपाका एक-एक जना छन् ।

टिप्पणीहरू