रास्वपाले सबैतिर दिएन उम्मेदवारी, १६ ठाउँ खाली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचन हुने ४२ मध्ये २६ स्थानमा मात्रै उम्मेदवार उठाएको छ ।
रास्वपाले कुनै पनि पार्टीसँग चुनावी गठबन्धन नगर्ने र सबै ठाउँमा एक्लै प्रतिस्पर्धामा उत्रने बताउँदै आएको थियो । तर, संघीय राजधानी काठमाडौंको कीर्तिपुर नगरपालिकासहित १६ ठाउँमा उसले उम्मेदवारी दिएन ।
ओखलढुंगा र कैलालीको जिसस प्रमुखसहित कीर्तिपुरको मेयर,बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष र रुकुम पूर्वको पुथा उत्तरगया गाउँपालिकाको उपाध्यक्षमा रास्वपाका तर्फबाट उम्मेदवारी परेन । त्यस्तै, झापाको कन्काई नगरपालिका-६, कीर्तिपुरको वडा नम्बर १ र ४ को वडाध्यक्षमा पनि उम्मेदवार उठाएन ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका-१, ४, रौतहटको इशनाथ नगरपालिका-७, राजपुर-६ र गढीमाई-८ मा पनि उसले उम्मेदवारी दर्ता गरेन । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५, रुकुम-पश्चिमको सानीभेरी नगरपालिका-५, बझाङ्गको सुर्मा गाउँपालिका-४ र दार्चुलाको दुहु गाउँपालिका-५ मा रास्वपाले उम्मेदवार उठाएन ।
टिप्पणीहरू