एमाले टोली आज बेइजिङ पुग्दै

एमाले टोली आज बेइजिङ पुग्दै

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको एमाले टोली आज बेइजिङ पुग्दै छ । गत बुधबार चीन पुगेपछि विभिन्न प्रान्त र शहरको भ्रमण गर्ने क्रममा हुपेइ हुँदै टोली बेइजिङ जान लागेको हो । टोलीको राजधानी बेइजिङमा उच्चस्तरीय भेटघाट कार्यक्रम छ । 

यसअघि हुपेइ प्रान्तीय जनसरकारद्वारा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले चीन र नेपाल सरकार तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा (एमाले) बीच गहिरो ऐतिहासिक सम्बन्ध रहेकाले अब जनस्तरमा पनि सम्बन्ध विस्तार गर्न जरुरी भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले गर्नुभएको भगिनी प्रदेश सिचुवान र तिब्बतको नाछु प्रदेशका प्रमुखले गर्नुभएको भगिनी पालिका टोखा नगरपालिकाको भ्रमणले महत्वपूर्ण योगदान गरेको छ ।’ 

त्यस्तै हुपेइ प्रान्तीय जनसरकारका गभर्नर तथा चिनिया कम्युनिष्ट पार्टी हुपेई प्रान्तीय पार्टी सचिव वाङ जोङलिङले चीन र नेपालबीच सम्बन्ध राम्रो र भविष्य उज्ज्वल रहेको चर्चा गर्दै सम्बन्ध र सहयोग आदान प्रदानका अनेक क्षेत्र रहेको उल्लेख गर्नुभयो । पोखरेल हुवई विश्वविद्यालयमा आयोजित कार्यक्रममा पनि सहभागी हुनुभएको थियो ।

टिप्पणीहरू