कुण्डलीमै गृहमन्त्री
केही मानिस यस्ता हुन्छन्, जो मन्त्री नै हुनका लागि जन्मिन्छन् । जीवनमा मन्त्री हुनु बाहेक उसको अर्को मकसद हुँदैन । केहीचाहिँ यस्ता हुन्छन् जो गृहमन्त्री बन्नका लागि जन्मिन्छन् । गृहमन्त्री नै उनीहरूको राजनीतिको एउटै मात्र लक्ष्य हुन्छ ।
शायद यस्ता मान्छेको भाग्य मात्र होइन कुण्डलीमा समेत गृहमन्त्री नै लेखिएको हुन्छ कि कुन्नि ! गृहमन्त्री भएको बेला मात्र होइन नभएकै बेला पनि उनीहरूको पोज कुनै गृहमन्त्रीभन्दा कम्ताको हुँदैन । जस्तो कि अहिले श्री रवि लामिछानेलाई लिनोस् । उहाँ राजनीतिमा लागेकै गृहमन्त्री बन्नका लागि हो । गृह मन्त्रालय उहाँको कुण्डलीमै लेखिएको छ । त्यसैले अस्ति गृहमन्त्री भएका बेला मात्र होइन, अहिले गृहमन्त्री नभएका बेला पनि उहाँ पुरा पुलिसको घेरामा बसिरहनुभएको छ । गृहमन्त्री भनेकै पुलिस परिचालन गर्ने मन्त्री हो । त्यसैले गृहमन्त्री हमेशा पुलिसको घेरामा रहेको हुन्छ ।
अहिले प्रहरीले उनलाई भैरहवा प्रहरी कार्यालयमा पु¥याएको छ । योभन्दा अघि उहाँ पोखराको प्रहरी हिरासतमा हुनुहुन्थ्यो । त्यो भन्दा पनि पहिले काठमाडौं प्रहरीको निगरानीमा बस्नुभयो । यसपछि क्रमशः बुटवल, चितवन, मकवानपुर, सिन्धुली आदि जिल्लाका प्रहरी कार्यालयतिर पनि लगिन्छ होला । जुन प्रहरी कार्यालय उहाँले गृहमन्त्री भएका बेला घुम्न पाउनुभएको थिएन, त्यो अब गृहमन्त्री नभएका बेला घुम्ने अवसर जुरेको छ । एउटा गृहमन्त्रीको काम के ? यिनै प्रहरी चौकीहरू घुम्नु त हो नि । प्रशासनिक भाषामा यसलाई चौकी निरीक्षण वा अवलोकन पनि भन्न सकिन्छ । उहाँ अहिले त्यही चौकी निरीक्षणमा हुनुहुन्छ ।
अर्थात गृहमन्त्री नहुँदा पनि उहाँले ड्युटीचाहिँ गृहमन्त्रीकै निर्वाह गरिरहनुभएको रहेछ । गृह मन्त्रालयतिरको उहाँको सघन आकर्षण यसले पनि पुष्टि गर्छ । गृह मन्त्रालय उहाँ शायद कुनै हालतमा छोड्न चाहनुहुन्न । चाहे त्यो गृहमन्त्री भएको बेला होस्, अथवा गृहमन्त्री नभएको बेला होस् । गृह मन्त्रालय उहाँलाई चाहिन्छ चाहिन्छ । अब कुण्डलीमै गृहमन्त्री लेखिएपछि के गर्ने गर्ने, हुने यही त हो ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू