हटेका मन्त्री लीलाबल्लभको यस्तो छ हुलिया
'लोभले लाभ, लाभले विलाप’ भन्ने नेपाली उखान कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीसँग मेल खान पुगेको छ । सित्तैमा जापान घुम्ने, दुई चार पैसा पनि कमाइने लोभ पाल्दा उनी मानव तस्करीको अभियोगमा थुनिएपछि माथिको उखान मेल खाएको हो।
उनलाई एमालेले पार्टी सदस्यसमेतबाट निलम्बन गरे तापनि प्रदेश सभा सदस्यमा भने कायमै राखेको छ । अधिकारी साथीभाइमाझ हल्काफुल्का व्यक्तिका रुपमा चिनिन्छन्। पाँचौं महाधिवेशनमा मदन भण्डारी र चन्द्रप्रकाश मैनाली (सीपी) का बीच विचारको बहस हुँदा सीपीका तर्फबाट प्रतिनिधि भएका थिए । पछिल्लो समयको पार्टी फुटताका मालेतिर क्रियाशील भए । त्यसबेला गुरु बरालहरूले टिकिखान नदिएपछि एमाले छाड्न बाध्य भएको बताउँदै हिँड्थे। माले भएपछि जिल्ला कमिटीको सदस्य बनिहालिन्छ र दुई चार वर्षमा पार्टी मिलेर पुनः एमालेको नेतृत्वमा आउने भन्थे। यस्तो हिसावकिताव जान्ने अधिकारी नभन्दै पार्टी एकीकरणपछि एमाले जिल्ला कमिटीको सदस्यसमेत भए । नजिकबाट चिन्ने एक स्रोतका अनुसार, अधिकारी विन्दास, अलपत्रे स्वभावका हुन्। ग्रासरुटमा भने पपुलर छन्।
जनतासँगै जाने, उनैसँग खान्तेपिन्ते गर्ने । उनैसँग सुत्ने। उनैका मुद्दामामिला बोकेर पुलिस प्रशासनसँग डिल गर्न अघि सर्ने । पैसा खाने, ख्वाउने पनि । वकिल भएकाले पुलिस, प्रशासन र न्यायाधीशहरूसँग पनि उत्तिक्कै उठबस गर्न जानेका ।जानकारहरूका अनुसार अधिकारीलाई मान्नेले देवताजस्तै मान्छन्, नमान्नेले ऊ जस्तो नम्बरी फटाहा अरु पाउन मुश्किल छ भन्छन्।
उनको पुख्र्यौली घर धनकुटा हो। न्यायाधीशहरूसँग अत्यन्तै राम्रो सम्वन्ध भएका र नाम चलेका वकिलको पृष्ठभूमिकै कारण उनले कोशी प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी पाएका हुन्। सर्वोच्च अदालतका पूर्व कामु प्रधानन्यायाधीश दिपक कार्कीसँग अत्यन्तै निकट सम्बन्ध भएका अधिकारीले उनैमार्फत् अध्यक्ष ओलीको मन जितेर हिमचिम बढाएका थिए ।
त्यही बेला पनि हाल पार्टी उपाध्यक्ष गुरु बरालले उनलाई मन्त्री बनाउनु हुँदैन भनी दह्रो लबिब गरका थिए । तर अध्यक्ष ओलीले कसैको कुरालाई सुनेनन्। अधिकारी एमालेका निम्ति खडेरीग्रस्त क्षेत्र मानिने मोरबको प्रदेश निर्वाचन क्षेत्र २ बाट निर्वाचित माननीय हुन्।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू