अनुहार मिलाएपछि स्वस्तिमा खड्का आक्रोशित
सूचना प्रविधिको प्रयोगसँगै पछिल्लो समय अनलाइन जुवा र ठगीका घटनाहरु बढिरहेका छन् । विशेषगरी एआईको प्रयोग गरेर मानिसको अनुहार र आवाजलाई दुरुपयोग गर्ने प्रवृत्ति बढ्दो छ ।
यसैबीच अभिनेत्री स्वस्तिमा खड्काले एक अनलाइन गेमिङ एपमार्फत् आफ्नो तस्बिर दुरुपयोग भएकोमा आक्रोश पोखेकी छन् । ‘हिमा ८’ नामक गेमिङ एपले स्वस्तिमालाई ब्राण्ड एम्बेस्डर घोषणा गर्दै सामाजिक सञ्जालमा प्रचार–प्रसार गरिरहेको छ । तर, स्वस्तिमाले भने आफू यस्ता अनलाइन गेमिङ एपबाट टाढा रहेको र ब्राण्ड एम्बेस्डर बनाएको विषय थाहा नभएको बताएकी छन् ।
कसैले उक्त एपको विज्ञापन देखेमा रिपोर्ट गरिदिन पनि उनको आग्रह छ । नेपाल प्रहरीसँग सहयोगको अपेक्षा गर्दै भनेकी छन्, ‘मलाई ब्राण्ड एम्बेस्डरको रुपमा अनुबन्धित गरिएको भन्दै एक गेमिङ एपले सामाजिक सञ्जालमा विज्ञापन गरिरहेको छ । म यस्ता गैरकानुनी एपबाट कोसौँ टाढा छु । यस्ता पोस्टहरु देख्नुभयो भने रिपोर्ट गरिदिनुहोला ल । नेपाल प्रहरीले कारबाही गर्नेछ भन्ने विश्वासमा छु ।’
टिप्पणीहरू