त्यो दिन कञ्चनपुर पुगेकोमा विनालाई सँधै पछुतो

त्यो दिन कञ्चनपुर पुगेकोमा विनालाई सँधै पछुतो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छोरा प्रकाशलाई गुमाउनुभएको आज सात वर्ष पूरा भएको छ । २०७४ मंसिर ३ गते बिहान लाजिम्पाटस्थित निवासमा हृदयाघात भएपछि प्रकाशलाई अचेत अवस्थामा थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो । 

तर, उपचारको क्रममा उनको निधन भएको थियो । सातौं वार्षिकीमा अध्यक्ष प्रचण्डकी बुहारी एवम् प्रकाशकी श्रीमती बिना मगर आज भावुक बनेकी छन् । आफूसँग पुरानो भयावह पल पोख्ने शब्द नै नभएको उनले उल्लेख गरेकी छन् ।

प्रकाशको सम्झनामा उनले लेखेकी छन्, ‘कहालीलाग्दो दिनले निम्त्याएको भयावह पलहरु पोख्ने कुनै शब्द छैन, मसँग आज । जीवनमा हरपल तिम्रो अनुपस्थितिको पीडाले मुटु नै रोप्ने गर्छ, प्रकाश ।’

प्रकाशलाई हृदयाघात हुँदा बिना चुनावी प्रचारप्रसारको क्रममा कञ्चनपुरमा थिइन् । श्रीमानलाई हृदयाघातपछि अस्पताल पुर्याइएको खबर पाएलगत्तै विमानमा काठमाडौँ आइन् । तर उनी काठमाडौँ नआइपुग्दै प्रकाशको निधन भइसकेको थियो । 

प्रकाशले अन्तिम श्वास फेर्दा सँगै हुन नपाएकोमा बिनालाई अहिले पनि पश्चाताप हुने गरेको उनी निकटस्थहरु बताउँछन् । त्यतिबेला आफू सँगै भएको भए चाँडै अस्पताल पुर्याउन सकिने र प्रकाश बाँच्नसक्ने आकलन गर्दै आएकी छन् ।

टिप्पणीहरू