मध्य रातमा दाउराले हान्दा श्रीमान ठहरै

मध्य रातमा दाउराले हान्दा श्रीमान ठहरै

रुकुम पश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको चौरजहारी नगरपालिका २ निवासी ३२ वर्षीया दिपा कुमालले उनका श्रीमान् ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।  

प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आज मङगलबार बिहान अन्दाजी २ः३० बजेको समयमा दिपाले आफ्नै श्रीमानको हत्या गरेकी हुन् । उनका अनुसार चिर्पट दाउराले टाउको हानेर मृत अवस्थामा रहेको भनी मृतकका छोरा खिम कुमालले प्रहरीलाई खबर गरेका थिए ।  

सूचना लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दीपेन्द्र रावलको नेतृत्वमा गएको प्रहरी टोलीले हत्या आरोपी महिलालाई नियन्त्रणमा लिएको छ । मृतकको शव भने पोस्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।  

प्रहरीका अनुसार घरायसी विवादको कारण श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । मधु परस्त्रीसंग लागेको भन्दै विवाद हुने गरेको थियो ।

प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

टिप्पणीहरू