माओवादी मुख्यालयमा आमरण अनसन

माओवादी मुख्यालयमा आमरण अनसन
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेताहरु पार्टी मुख्यालय, पेरिसडाँडामा आमरण अनसन बसेका छन् । क्रान्तिकारीको स्थगित बन्दसत्र तोकिएकै मितिमा गर्नुपर्ने माग राख्दै उनीहरु अनसनमा बसेका हुन् । 

क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको स्थगित बन्दसत्र आगामी २३ गते गर्नुपर्ने माग उनीहरुको छ । निवर्तमान केन्द्रीय उपाध्यक्ष एवम् कार्यालय प्रमुख केशव रावलसहित पूर्वकेन्द्रीय सदस्य जनक ढुंगाना र खगेन्द्र रावल आमरण अनसनमा बसेका छन् । 

बन्दसत्र मंसिर २३ र २४ गते काठमाडौंमा गर्न निर्देशन भएपनि पार्टीले हालसम्म कुनै सर्कुलर जारी नगरेकोले अनिश्चित भएको पूर्वकेन्द्रीय उपाध्यक्ष रावलले बताए । ‘सम्मेलनका लागि तीन हप्ता पनि नरहेको अवस्थामा पार्टीले कुनै पनि प्रकारको सर्कुलर जारी नगर्दा बन्दसत्र झन् अनिश्चित भएकाले मंसिर २३ गते नै शुरु गर्न र नेतृत्व चयनको कुरा निर्वाचनको माध्यमबाट सुनिश्चित गर्नका लागि आमरण अनसनको शुरुवात गरेका हौँ,’ उनले भने । 

स्थगित बन्दसत्रको बाँकी प्रक्रिया पूर्वनिर्धारित समयमै गर्नुपर्ने र नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट हुनुपर्ने अनसनरत विद्यार्थीहरुको माग छ । गत असोज १० गतेदेखि काठमाडौंको कीर्तिपुरमा शुरु भएको २३ औं राष्ट्रिय सम्मेलनमा उमेर हदको विषय पेचिलो बनेपछि नयाँ नेतृत्व चयन नगरी स्थगित गरिएको थियो ।
 

टिप्पणीहरू