त्यो ‘बूढो’ को हो ?

त्यो ‘बूढो’ को हो ?
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्नेबित्तिकै भन्नुभएको थियो, विदेशमा दुःख गरिरहेका नेपाली जनतालाई फिर्ता बोलाई स्वदेशमै काम गर्ने वातावरण बनाउँछु । उहाँ अहिले त्यही बचन पूरा गर्ने अभियानमा लाग्नुभएको छ । यस क्रममा सर्वप्रथम जापानमा कार्यरत एक नेपाली छात्रलाई नेपाल बोलाउने तयारी गर्नुभएको छ । 

अहिले प्रधानमन्त्रीबाट नेपाल तानिन लागेका नेपाली भाइ हुन्– रतन कार्की । अस्ति भएको महिला सार्क फुटबलमा उनले ‘बूढालाई यहीं मार्दिऊँ’ भनेका रहेछन् । तर उनले मार्न खोजेका बूढा को हुन् थाहा छैन ।

किनभने फुटबल हेर्न त्यतिबेला धेरै बूढा गएका थिए । आखिर महिलाले खेल्ने फुटबल हो, बूढाहरू त आउने नै भए । तीमध्ये कुनै एक बूढालाई मार्नैपर्छ भनेर कार्की भाइले भनेका रहेछन् । शायद पुरानो रिसइबी पनि हुनुसक्छ । तर उनले भनेका ती ‘बूढा’ को हुन् थाहा नभएर अहिले ठूलो कन्फ्युजन सिर्जना भएको छ । चाहिने नचाहिने आशंकासमेत उत्पन्न भएका छन् ।

त्यही कारणले प्रधानमन्त्री केपी शर्मा ओलीले कार्की भाइलाई नेपाल झिकाउन लाग्दै हुनुहुन्छ । नेपाल झिकाएर उनलाई यति मात्रै सोधिने छ कि उनले भनेका ती ‘बूढा’ को हुन् ? प्रष्ट पार्नुपर्‍यो । वास्तवमा प्रम ओलीले केटोलाई यति सोध्न नेपाल झिकाउन लाग्दा यहाँ भने अनेक हल्ला चलिरहेको छ । मान्छेलाई निहुँ मात्रै चाहिन्छ, हल्ला गराइ हाल्छन् । राम राम !

(साभार:जनआस्था साप्ताहिकबाट)

  

 

टिप्पणीहरू